काठमाडौं । अमेरिका र इरानबीच जारी तनाव तथा सम्भावित युद्ध अन्त्यका लागि महत्वपूर्ण कूटनीतिक पहल अगाडि बढेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । अमेरिकी समाचार संस्था सीएनएनका अनुसार इरानले बिहीबार संयुक्त राज्य अमेरिकाको प्रस्तावमाथि औपचारिक प्रतिक्रिया दिने तयारी गरेको छ । उक्त प्रस्ताव युद्धविराम गर्दै मध्यस्थतामार्फत दीर्घकालीन समाधान खोज्ने उद्देश्यका साथ अघि सारिएको हो ।
रिपोर्टअनुसार अमेरिकी समर्थन प्राप्त प्रस्तावमाथि समीक्षा भइरहेका बेला दुवै पक्ष सम्भावित सहमतिनजिक पुगेका छन् । पश्चिमी मुलुकहरू र इरानबीच भएका पछिल्ला वार्ताले हालको संकट अन्त्य गर्दै विस्तृत आणविक वार्ताका लागि प्रारम्भिक सहमतिको आधार तयार गरिरहेको बताइएको छ ।
अमेरिकी समाचार संस्था एक्सिओसले अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै यो प्रगतिलाई द्वन्द्व सुरु भएयताकै सबैभन्दा महत्वपूर्ण कूटनीतिक उपलब्धिका रूपमा वर्णन गरेको छ । यद्यपि अन्तिम सहमति भने अझै भइनसकेको जनाइएको छ ।
प्रस्तावित समझदारीपत्र १४ बुँदे प्रारम्भिक दस्तावेजका रूपमा रहेको र यसले तत्काल युद्धविराम लागू गर्दै ३० दिने वार्ता प्रक्रिया सुरु गर्ने लक्ष्य राखेको बताइएको छ । सो अवधिमा व्यापक समझदारीका विषयमा थप छलफल हुने जनाइएको छ ।
सम्झौताअन्तर्गत इरानले अल्पकालीन रूपमा युरेनियम संवर्द्धन गतिविधिमा रोक लगाउनेछ भने त्यसको बदलामा अमेरिकाले केही प्रतिबन्ध हटाउने र इरानका अर्बौं डलर बराबरका रोक्का सम्पत्ति फुकुवा गर्ने प्रक्रिया अघि बढाउने बताइएको छ । साथै, दुवै देशले होर्मुज जलडमरूमध्य क्षेत्रमा सैन्य तनाव कम गर्ने दिशामा पनि काम गर्ने जनाइएको छ ।
रिपोर्टमा धेरै प्रावधान आगामी वार्ताको नतिजामा निर्भर रहने उल्लेख गर्दै प्रक्रिया अझै जोखिमपूर्ण रहेको बताइएको छ । वार्ता असफल भए पुनः सैन्य द्वन्द्व चर्किन सक्ने वा लामो समयसम्म अनिश्चितता कायम रहन सक्ने चेतावनी पनि दिइएको छ ।
अमेरिकी अधिकारीहरूका अनुसार राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै होर्मुज क्षेत्रमा सैन्य गतिविधि कम गर्ने निर्णय पनि यही कूटनीतिक प्रगतिपछि लिएका हुन् । वार्ताको नेतृत्व अमेरिकी दूत स्टिभ विटकफ र जारेड कुशनरले गरिरहेका छन् । उनीहरूले तेहरानसँग प्रत्यक्ष तथा तेस्रो पक्षमार्फत संवाद जारी राखेको जनाइएको छ ।
यदि समझदारी औपचारिक रूपमा लागू भएमा यसले युद्ध अन्त्यको औपचारिक घोषणा गर्दै आगामी प्राविधिक वार्ताहरू जेनेभा वा अन्य तटस्थ स्थानमा सार्ने मार्ग प्रशस्त गर्ने बताइएको छ ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया