खोटाङ ; किरात ऐतिहासिकस्थल महुरेगढीलाई सौन्दर्यकरण गर्नका लागि गुराँसका बिरुवा रोपिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलामा रहेको महुरेगढीको संरक्षण, प्रवर्द्धन र सौन्दर्यकरण गर्दै पर्यटकीयस्थलको रुपमा विकास गर्न नेपालको राष्ट्रिय फूल गुराँसका बिरुवा रोपिएको हो ।
किरात ऐतिहासिकस्थल महुरेगढीको सौन्दर्यकरणका लागि डिभिजन वन कार्यालय खोटाङले निःशुल्क उपलब्ध गराएको छ सय वटा गुराँसका बिरुवा रोपिएको नुनथलाका वडाध्यक्ष भगेश्वर राईले बताउनुभयो । “महुरेगढी किरात ऐतिहासिकस्थल हो । यहाँ किराती राजा भूमराजले विसं १८३० सम्म राज्य गरेको किम्बदन्ती छ”, उहाँले भन्नुभयो, “किरात ऐतिहासिकस्थल महुरेगढीको संरक्षण, प्रवर्द्धन र सौन्दर्यकरण गर्दै पर्यटकीयस्थलको रुपमा विकास गर्न गुराँसका बिरुवा रोपिएको छ । यसलाई आगामी दिनमा निरन्तरता दिने योजना बनाएका छौँ ।”
नुनथलास्थित महुरे प्राकृतिक सामुदायिक वन र सिहंबाहिनी सामुदायिक वन उपभोक्ता समूहको सक्रियतामा महुरेगढी आसपासका क्षेत्रमा गुराँसका बिरुवा रोपिएको जनाइएको छ । सामुदायिक वन राष्ट्रिय दिवसको अवसर पारेर किराँत ऐतिहासिकस्थल महुरेगढीमा वृक्षरोपण कार्यक्रमको आयोजना गरिएको डिभिजन वन कार्यालय खोटाङका डिभिजन प्रमुख पशुपति दाहालले जानकारी दिनुभयो ।
‘सामुदायिक वनको प्रभावकारिता, तीनै तहका सरकार र समूहको सहभागिता’ भन्ने नाराका साथ मनाइएको सामुदायिक वन दिवसको अवसरमा जिल्लास्थित तीन वटा उत्कृष्ट सामुदायिक वन तथा तीन वटा कबुलियती वनलाई पुरस्कृत गरिएको छ । सामुदायिक वनतर्फ प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः नगद रु २५ हजार, रु २० हजार र रु १५ हजार तथा कबुलियती वनतर्फ प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः नगद रु १२ हजार पाँच सय, रु १० हजार र रु सात हजारको साथमा प्रमाणपत्र प्रदान गरिएको डिभिजन प्रमुख दाहालले जानकारी दिनुभयो ।
सामुदायिक वनतर्फ धर्मशाखा सामुदायिक वन उपभोक्ता समूह बराहपोखरी गाउँपालिका–४ बडकादियाले प्रथम, डाँडाखर्क खिसापत्रे सामुदायिक वन दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मी द्वितीय र पौडी पाखा सामुदायिक वन उपभोक्ता समूह केपिलासगढी गाउँपालिका–३ बास्पानी तृतीय भएका छन् । यस्तै, कबुलियती वनतर्फ गौरीखर्क कबुलियती वन समूह दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ विजयखर्क प्रथम, रिठ्ठाबोटे कबुलियती वन समूह रावाबेँसी गाउँपालिका–६ हौँचुर द्वितीय र चप्लेटी कबुलियती वन समूह हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम तृतीय भएका छन् ।
कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासङ्घ खोटाङका तीन जना पूर्वअध्यक्षलाई सम्मान गरिएको छ । सामुदायिक वन उपभोक्ता महासङ्घ राष्ट्रिय कार्यसमितिले महासङ्घ खोटाङका पूर्वअध्यक्षहरू साकेला गाउँपालिका–४ मात्तिम निवासी स्वर्गीय अमरबहादुर राई र सीताराम कटवाल, दिप्रुङ चुइचुम्मा गाउँपालिका–६ छितापोखरी निवासी सूर्यबहादुर राई र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङ निवासी राजेन्द्र राईलाई सम्मान गरेको हो ।
पुरस्कृत हुने वन समूह तथा सम्मानित हुने पूर्वअध्यक्षहरूलाई कार्यक्रममा समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईले पुरस्कार तथा सम्मानपत्र प्रदान गर्नुभएको थियो । रावाबेँसी गाउँपालिकाका उपप्रमुख कौशिला गुरुङ, डिभिजन वन कार्यालय खोटाङका डिभिजन प्रमुख पशुपति दाहाल, नुनथलाका वडाध्यक्ष भगेश्वर राई, सामुदायिक वन उपभोक्ता महासङ्घका केन्द्रीय सदस्य राजेन्द्र राई, जिल्ला अध्यक्ष मोहन गुरुङलगायत सहभागिता थियो ।
यसैबीच, मध्यपहाडी लोकमार्गअन्तर्गत छिमेकी जिल्ला भोजपुरको सीमानामा पर्ने चखेवा भञ्ज्याङदेखि जयरामघाटसम्मका सडक आसपासमा विभिन्न प्रजातिका फूलका बिरुवा राप्ने निर्णय गरिएको छ । जिल्ला समन्वय समिति खोटाङको अगुवाइ तथा डिभिजन वन कार्यालय खोटाङ र सामुदायिक वन उपभोक्ता महासङ्घ खोटाङको सहकार्यमा बहुवर्षे फूलका बिरुवा रोप्ने निर्णय गरिएको हो ।
यस्तै, जिल्लास्थित सबै ग्रामीण सडकमा विभिन्न प्रजातिका फूलका बिरुवा रोप्ने निर्णय गरिएको जनाइएको छ । सम्बन्धित स्थानीय तह तथा सामुदायिक वन उपभभोक्ता समूहहरूसँगको सहकार्यमा जिल्लास्थित सबै ग्रामीण सडकमा फूलका बिरुवा रोप्ने निर्णय गरिएको जनाइएको छ ।
दश स्थानीय तह रहेको जिल्लालाई फूलैफूलको जिल्लाको रुपमा परिचित गराउने उद्देश्यले फूलका बिरुवा रोप्ने निर्णय गरिएको जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईले जानकारी दिनुभयो । अभियानको रुपमा सञ्चालन गरिने फूलका बिरुवा रोप्ने कार्यक्रमलाई दातृ निकायलेसमेत सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।