logo

२०८३ असार ९ मंगलवार

logo
  • २०८३ असार ९ मंगलवार
  • ’मानव विकास पहिलो प्राथमिकता’ भन्दै केपिलासगढीले ल्यायो ४७ करोड ५१ लाखको बजेट

    814Shares
    ’मानव विकास पहिलो प्राथमिकता’ भन्दै केपिलासगढीले ल्यायो ४७ करोड ५१ लाखको बजेट

    खोटाङ । खोटाङको केपिलासगढी गाउँपालिकाले शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रलाई मानव विकासको मुख्य आधार मानेर आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ४७ करोड ५१ लाख ५ हजार १७० रुपैयाँको बजेट सार्वजनिक गरेको छ।

    मंगलबार सम्पन्न गाउँपालिकाको १९औँ गाउँसभामा उपाध्यक्ष गुरुराज राईले बजेट प्रस्तुत गर्दै मानव विकास, स्थानीय उत्पादन वृद्धि तथा आधारभूत सेवाको पहुँच विस्तारलाई केन्द्रमा राखिएको बताएका छन्।

    गाउँपालिका अध्यक्ष समिर राईले बजेटले शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रको गुणस्तरीय विकासमार्फत नागरिकको जीवनस्तर उकास्ने लक्ष्य लिएको बताए। उनका अनुसार स्थानीय आवश्यकता र जनअपेक्षालाई सम्बोधन गर्ने गरी बजेट तर्जुमा गरिएको हो।

    प्रस्तुत बजेटमध्ये सामाजिक विकास क्षेत्रले सबैभन्दा ठूलो हिस्सा प्राप्त गरेको छ। सामाजिक विकासतर्फ २२ करोड ७५ लाख ६२ हजार ५०० रुपैयाँ विनियोजन गरिएको छ। विषयगत रूपमा हेर्दा शिक्षा क्षेत्रमा सबैभन्दा बढी १६ करोड ८५ लाख ६८ हजार ५१० रुपैयाँ छुट्याइएको छ, जसले गाउँपालिकाको प्राथमिकता स्पष्ट पार्ने विश्लेषण गरिएको छ।

    त्यस्तै स्वास्थ्य क्षेत्रका लागि ३ करोड ५६ लाख ८५ हजार ६६८ रुपैयाँ विनियोजन गरिएको छ। गाउँपालिकाले आधारभूत स्वास्थ्य सेवाको पहुँच विस्तार, स्वास्थ्य संस्थाको सुदृढीकरण तथा नागरिकलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्य लिएको जनाएको छ।

    स्थानीय अर्थतन्त्रको मेरुदण्ड मानिएको कृषि क्षेत्रका लागि ४ करोड ३७ लाख ५१ हजार ६४० रुपैयाँ बजेट विनियोजन गरिएको छ। कृषि उत्पादन वृद्धि, कृषकको आयस्तर सुधार तथा स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने कार्यक्रम बजेटमा समेटिएका छन्।

    गाउँपालिकाले पूर्वाधार विकासलाई पनि समान रूपमा प्राथमिकता दिएको छ। सडक, खानेपानी तथा अन्य भौतिक संरचनाको विकासका लागि ९ करोड १५ लाख ८० हजार ६१५ रुपैयाँ विनियोजन गरिएको छ। खानेपानी क्षेत्रमा मात्र २ करोड ९१ लाख १२ हजार ५०० रुपैयाँ बजेट छुट्याइएको छ।

    यसैगरी आर्थिक विकासतर्फ ६ करोड १ लाख २६ हजार ८६० रुपैयाँ, सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रतर्फ ८९ लाख ५० हजार ५०० रुपैयाँ तथा प्रशासनिक तथा कार्यालय सञ्चालन खर्चतर्फ ८ करोड ६८ लाख ८४ हजार ६९५ रुपैयाँ विनियोजन गरिएको प्रमुख प्रशासकीय अधिकृत सौधन राईले जानकारी दिए।

    पर्यटन क्षेत्रका लागि १ करोड ६१ लाख ११ हजार रुपैयाँ, सिँचाइका लागि १० लाख ५० हजार रुपैयाँ तथा विपद् व्यवस्थापन कोषका लागि १० लाख रुपैयाँ बजेट छुट्याइएको छ।

    गाउँपालिका नेतृत्वले प्रस्तुत बजेटलाई केवल विकास निर्माणमा सीमित नराखी शिक्षा, स्वास्थ्य, कृषि तथा मानव पूँजी विकाससँग जोडेको जनाएको छ। स्थानीय उत्पादन, गुणस्तरीय शिक्षा, सहज स्वास्थ्य सेवा र आधारभूत पूर्वाधार विस्तारमार्फत समग्र मानव विकासलाई गति दिने लक्ष्यसहित बजेट ल्याइएको गाउँपालिकाको भनाइ छ।

    स्थानीय तहको सीमित स्रोतसाधनका बीच पनि नागरिकको जीवनस्तर सुधारलाई केन्द्रमा राखेर बजेट तर्जुमा गरिएको भन्दै गाउँपालिकाले आगामी वर्षलाई मानव विकास र सेवा प्रवाह सुधारको वर्षका रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ।



    फास्ट न्युज    
  • २०८३ असार ९, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट