काठमाडौं। परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषदको सदस्यमा नेपाललाई मतदान गर्न विश्व समुदायलाई आग्रह गरेकी छिन् ।संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को ५८औँ उच्चस्तरीय सत्रलाई सम्बोधन गर्ने क्रममा जेनेभामा रहेकी मन्त्री डा. देउवाले जेनेभामा रहेका विभिन्न देशका राजदूत एवं प्रतिनिधिहरूलाई सो आग्रह गरेकी हुन् ।
मन्त्री डा देउवाको सम्मानमा जेनेभास्थित नेपाली स्थायी नियोगद्वारा बुधबार साँझ जेनेभामा रहेका विभिन्न देशका स्थायी नियोग र विभिन्न अन्तर्राष्ट्रिय संघसंस्थाका प्रमुखहरुका लागि आयोजित स्वागत समारोहलाई सम्बोधन गर्दै उहाँले सीमित स्रोत र साधनका बाबजुद पनि मानवअधिकारको रक्षा र प्रवर्धनका क्षेत्रमा नेपालले गरेका काम र प्राप्त उपलब्धिलाई हेरेर नेपाललाई मत दिन आग्रह गरेकी हुन् ।
सो समारोहमा जेनेभामा रहेका एक सयभन्दा बढी देशका राष्ट्रसङ्घीय स्थायी नियोगका प्रमुख तथा राजदूत र विभिन्न अन्तरराष्ट्रिय सङ्घसंस्थाका प्रतिनिधि उपस्थित थिए।मन्त्री डा देउवाले पछिल्ला समयमा नेपालले बाल, महिला तथा अल्पसंख्यकहरुको अधिकारका साथै समावेशिताका क्षेत्रमा उपलब्धिहरु हासिल गरेको जानकारी गराउँदै नेपालको वर्तमान सरकार सदैव राष्ट्रिय मानवअधिकार आयोगको स्वतन्त्रताका पक्षमा रही आएको पनि स्पष्ट गरिन् ।
यसअघि मन्त्री डा देउवाले गत मंगलबार राष्ट्रसंघीय मानवअधिकार परिषद्को उच्चस्तरीय सत्रलाई सम्बोधन गरेकी थिइन् । जेनेभामा जारी सो सत्रमा राष्ट्रसंघका सदस्य राष्ट्रहरुका परराष्ट्र तथा मानवअधिकारसम्बन्धी मन्त्री एवं मानवअधिकारका क्षेत्रमा कार्यरत व्यक्तिहरुको सहभागिता छ ।
मन्त्री डा देउवा ६ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै गत शनिबार जेनेभा पुगेकी थिइन् । उनी शुक्रबार बिहान स्वदेश फर्कँदै छिन ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया