logo

२०८३ बैशाख ९ बुधबार

logo
  • २०८३ बैशाख ९ बुधबार
  • गौतमबुद्व विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुरु भएपछि स्थानीय उत्साहित

    919Shares
    गौतमबुद्व विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुरु भएपछि स्थानीय उत्साहित

    भैरहवा- थाइल्याण्डको वायुसेवा कम्पनी एअर एशियाले एयरबस ए–३२० बाट भैरहवामा परीक्षण उडान गरेको छ । लामो समयदेखि प्रतिक्षरत भैरहवास्थित गौतमबुद्व विमानस्थलबाट अन्तराष्ट्रिय उडान सुरु भएपछि स्थानीय उत्साहित छन् ।

    कात्तिक २३ गतेदेखि नियमित हप्ताको २ वटा व्यवसायिक उडान गर्ने कम्पनीले जनाएको छ । आइतबार बिहान ७ बजे चालक दलका सात सदस्यसहित थाइको जहाज गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । हप्तामा २ उडान गर्ने तालिका तय भएपछि परीक्षणका लागि विमान भैरहवा आएको हो । विमानलाई भैरहवामा वाटर स्यालुटसहित स्वागत गरिएको थियो ।

    केहीबेरको बसाईपछि विमान बिहान ७:४० बजे भैरहवाबाटै बैंकक प्रस्थान गरेको विमानस्थलका सूचना अधिकारी विनोदसिंह राउतले बताए ।

    ‘यो तालिका अनुसारकै फ्लाइट हो । अर्को उडान अब कात्तिक २३ गते शुक्रबार हुने छ । त्यसपछि हप्ताको दुई उडान गर्ने छ’, उनले भने, ‘कात्तिक २३ गते बिहान ७ बजे आउने र त्यसपछि २५ गतेदेखि हप्ताको दुई दिन सोमबार र बिहीबार दिउँसो १२:१५ यहाँ अवतरण गरेर एक घण्टापछि बैंककका लागि उडान भर्नेछ ।’

    थाइ एसियाको विमान भैरहवामा विमानस्थलका कर्मचारीसहित सुरक्षाकर्मी, अध्यागमनका कर्मचारी र यहाँका पर्यटन व्यवसायीले स्वागत गरेका थिए ।

    भैरहवा विमानस्थलबाट उडान गर्न केही दिनअघि मात्रै थाइले‍ अनुमति पाएको थियो । थाइ एयर एसियाले भैरहवाबाट उडान गर्ने प्रतिबद्धतासँगै काठमाडौंमा पुनः उडान सुरु गर्न अनुमति पाएको छ । भैरहवाबाट बैंककतर्फ एकतर्फी सुरुआती भाडादर १२ हजार छ ।

    अरु पनि आउँदै

    यहाँबाट संयुक्त अरब इमिरेट्स (यूएई) को फ्लाई दुबई एयरलाइन्स र कुवेतको जजिरा एयरवेजले पनि उडान गर्न लागेका छन् ।फ्लाई दुबईले नोभेम्बर ९ तारिखबाट दैनिक र कुवेतको जजिरा एयरवेजले नोभेम्बर १० तारिखबाट सातामा तीन उडान गर्न लागेका छन् ।

    सूचना अधिकारी राउतका अनुसार फलाई दुबई दैनिक १ : ४५ बजे दुबईबाट भैरहवामा अवतरण गर्ने छ। उक्त जहाज यहाँबाट २ : ४५ बजे काठमाडौं हुँदै दुबई जानेछ ।

    यसअघि पनि गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थलबाट सेवा दिइसकेको जजिरा एयरवेजले सातामा मंगलबार, बिहीबार र शनिवार बिहान ७ : ३० बजे भैरहवामा अवतरण गर्नेछ । त्यसपछि ८ : ३० बजे कुवेतका लागि प्रस्थान गर्ने तालिका छ ।



    फास्ट न्युज    
  • २०८१ कार्तिक १९, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट