काठमाडाें । आईसीसी क्रिकेट विश्वकप लिग–२ शृङ्खला अन्तर्गत सोमबार दिउँसो भएको खेलमा सन्दीप लामिछानेले विश्व कीर्तिमान कायम गरेका छन् । २५ वर्षीय सन्दीप एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा छिटो १५० खेलमा विकेट लिने खेलाडी बनेका हुन् । साेमबार उनले ३ विकेट लिए ।
स्कटल्यान्डविरुद्धको खेलमा उनले ब्रान्डन म्याकमुलनलाई आउट गर्दै ओडिआईमा आफ्नो १५० औँ विकेट पूरा गरेका हुन् ।उनलाई यो कीर्तिमान कायम गर्न ७३ खेल लाग्यो । सन्दीपले अस्ट्रेलियाका तीव्र गतिका बलर मिचेल स्टार्कको कीर्तिमान तोडेका हुन् । स्टार्कले ७७ खेलमा यो कीर्तिमान बनाएका थिए ।
साेमबारकाे पहिलो इनिङमा स्कटल्यान्डले नेपाललाई १९५ रनको लक्ष्य दियो । कीर्तिपुरको त्रिवि क्रिकेट रङ्गशालामा टस जितेर ब्याटिङ गरेको स्कटल्यान्डले ३९ ओभर १ बलमा १९४ रन बनाउँदा सबै विकेट गुमायो । स्कटल्यान्डका ब्रान्डन म्याकमुलेनले ७३, माइकल इङ्ग्लिशले ५१ रन रन बनाए । नेपालका ललित राजवंशीले ४ विकेट लिए ।
कीर्तिपुरमा चलिरहेको लिग–२ शृङ्खलाको पहिलो खेलमा नेपाल स्कटल्यान्डसँग पराजित भएको थियो भने दोस्रो खेलमा अमेरिकालाई हराएको थियो । ८ वटा देश सहभागी लिग–२ को तालिकामा नेपाल २६ खेलमा २० अङ्कसहित सातौँ स्थानमा छ । यस्तै स्कटल्यान्ड ३० खेलमा ३८ अङ्कसहित शीर्ष र अमेरिका २६ खेलमा ३६ अङ्कसहित दोस्रो स्थानमा छ ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया