logo

२०८३ जेष्ठ ५ मंगलवार

logo
  • २०८३ जेष्ठ ५ मंगलवार
  • मलेसियाको १० बुँदे मापदण्ड अस्वीकार गर्दै नेपालले पठायो कूटनीतिक नोट

    1.1KShares
    मलेसियाको १० बुँदे मापदण्ड अस्वीकार गर्दै नेपालले पठायो कूटनीतिक नोट

    काठमाडौं । नेपाल सरकारले मलेसियाले हालै पठाएको १० बुँदे श्रम मापदण्ड अमान्य रहेको भन्दै आधिकारिक रूपमा कूटनीतिक नोट पठाएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले तयार पारेको पत्र परराष्ट्र मन्त्रालयमार्फत क्वालालम्पुरस्थित नेपाली दूतावास हुँदै मलेसियाको परराष्ट्र मन्त्रालयलाई पठाइएको हो ।

    गत शुक्रबार पठाइएको उक्त पत्र दूतावासले आज मलेसियाली सरकारलाई बुझाउन लागेको छ । दूतावासका एक अधिकारीका अनुसार शनिबार र आइतबार सार्वजनिक बिदा भएकाले आज (सोमबार) इमेलमार्फत पत्र पठाइनेछ । अधिकारीले भने, “इमेलमार्फत पठाउनुका साथै मलेसियाको परराष्ट्र मन्त्रालयका अधिकारीहरूसँग प्रत्यक्ष भेटेर पनि छलफल गर्ने तयारी भइरहेको छ ।”

    नेपालले मलेसियाको प्रस्तावित १० बुँदे मापदण्डले म्यानपावर कम्पनीबीच ‘सिन्डिकेट प्रणाली’ लागू गर्ने प्रयास गरेको ठहर गर्दै यसको कार्यान्वयन असम्भव भएको स्पष्ट पारेको छ । सरकारको धारणा अनुसार, उक्त मापदण्डले नेपालमा दर्ता भएका वैदेशिक रोजगार एजेन्सीबीचको समान अवसर, पारदर्शिता र निष्पक्ष प्रतिस्पर्धामा नकारात्मक असर पार्ने भएकाले स्वीकार्य छैन ।

    पत्रमा नेपालले मलेसियाली पक्षलाई नेपाली नागरिकका लागि रोजगारीका अवसर प्रदान गरेकोमा धन्यवाद ज्ञापन गर्दै कृतज्ञता प्रकट गरेको छ । साथै, नेपालले आफ्नो नीति, कानुन, संविधान, नेपाल–मलेसिया श्रमसम्बन्धी द्विपक्षीय सम्झौता तथा अन्तर्राष्ट्रिय श्रम प्रतिबद्धताअनुसार मात्र काम गर्न सक्ने उल्लेख गरिएको छ ।

    नेपाल सरकारले मलेसियाबाट पठाइएको मापदण्ड स्वीकृत गर्न वा लागू गर्न नसकिने औपचारिक रूपमा जनाएको छ । साथै, यस मापदण्डले मलेसियाली श्रम बजारमा दक्ष जनशक्ति आपूर्तिमा नकारात्मक प्रभाव पार्न सक्ने चेतावनीसमेत पत्रमा समावेश गरिएको छ ।

    त्यसैगरी, नेपालले मलेसियाको माग अनुसार दक्ष जनशक्ति आपूर्ति सुनिश्चित गर्न र श्रमिकहरूको सुरक्षा, मर्यादा र कल्याणका विषयमा आपसी संवाद र सहकार्यमार्फत समाधान खोज्न तयार रहेको स्पष्ट पारेको छ ।

    मलेसियाले गत अक्टोबर २७ मा नेपाल, भारत, बंगलादेश, पाकिस्तान र म्यानमारका लागि म्यानपावर कम्पनी छनोटका १० बुँदे मापदण्ड पठाएको थियो । नेपालका श्रम अधिकारीहरूले उक्त प्रस्तावको अध्ययन गरी कार्यान्वयन गर्न नसकिने निष्कर्षमा पुग्दै परराष्ट्र मन्त्रालयमार्फत मलेसियालाई औपचारिक जवाफ पठाएका हुन् ।



    फास्ट न्युज    
  • २०८२ कार्तिक २४, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट