खोटाङ, २ साउन — कोशी प्रदेश सरकारले खोटाङ जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारस्थित हाटडाँडामा पूर्वाधार विकास कार्यालय स्थापना गरेको छ। भौतिक पूर्वाधार मन्त्रालयअन्तर्गतको निर्देशनालयको मातहतमा रहेको यो कार्यालय प्रदेश सरकारले १४ वटै जिल्लामा स्थापना गर्ने निर्णयअनुसार खोटाङमा सञ्चालनमा आएको हो।
यसअघि विकास योजनासम्बन्धी कामका लागि स्थानीयलाई उदयपुर, ओखलढुङ्गा, विराटनगरजस्ता जिल्लामा पुग्नुपर्ने बाध्यता थियो। तर अब दिक्तेलमै कार्यालय खुलेसँगै योजनासम्बन्धी फाइल प्रक्रिया, सम्झौता, प्रगति अनुगमन र अन्य सबै काम सहज रूपमा स्थानीय तहमै हुने भएको छ।
कोशी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा स्वास्थ्यमन्त्री भूपेन्द्र राईले बिहीबार उक्त कार्यालयको औपचारिक उद्घाटन गर्नुभयो। कार्यक्रममा मन्त्री राईले प्रदेशभित्र सबै जिल्लामा यस्ता कार्यालय स्थापना गरिँदा योजनाको कार्यान्वयन छिटो, गुणस्तरीय र जनमुखी हुने अपेक्षा गरिएको बताउनुभयो। उहाँले भन्नुभयो, “यसले निर्माण व्यवसायीलाई समेत सहज बनाउनुका साथै सङ्घीयताको उपलब्धिको रूपमा लिइएको छ।”
उद्घाटन कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख सनबहादुर राई, प्रमुख जिल्ला अधिकारी नरहरि घिमिरे, स्थानीय तहका जनप्रतिनिधि, सुरक्षा निकाय, सरोकारवाला निकायका प्रतिनिधि र निर्माण व्यवसायीहरूको उपस्थिति थियो।
मन्त्रालयले १३ जना कर्मचारी दरबन्दी स्वीकृत गरेकोमा हाल कार्यालय प्रमुखसहित तीन जना कर्मचारी उपस्थित छन् भने बाँकी १० जनालाई केही दिनभित्रै खटाउने तयारी भइरहेको मन्त्रालयका सचिवले जानकारी दिनुभयो।
यस आर्थिक वर्षमा भौतिक पूर्वाधार मन्त्रालयमार्फत खोटाङ जिल्लामा एक सय ५१ वटा योजनाका लागि रु १ अर्ब २ करोड ५८ लाख २८ हजार बजेट विनियोजन गरिएको मन्त्री राईको सचिवालयका कर्मचारी सन्तोष राईले जानकारी दिनुभयो। योजनाहरूमा एकवर्षे तथा बहुवर्षे दुवै प्रकारका योजना समावेश छन्। अबको दिनमा स्थानीय विकास योजनाको कार्यान्वयन थप प्रभावकारी हुने अपेक्षा गरिएको छ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया