हेटौँडा । हेटौंडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्षदेखि आयोजना बैंक कार्यान्वयनमा ल्याउने भएको छ । हेटौँडा उपमहानगरपालिकाको मङ्गलबार १७ औँ नगर सभामा आगामी आर्थिक वर्ष २०८२\०८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरप्रमुख मीनाकुमारी लामाले आगामी आर्थिक वर्षबाट आयोजना बैंक कार्यान्वयनमा ल्याउने बताउनुभएको हो । उहाँले आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै योजना तर्जुमा प्रणालीलाई व्यवस्थित गर्न आयोजना बैंकको व्यवस्थापन सूचना प्रणाली निर्माण गरिने बताउनुभयो ।
आन्तरिक पर्यटन प्रवर्द्धनका लागि होटल एशोसियसन मकवानपुरसंगको सहकार्यमा सिटी टुर कार्यक्रमको थालनी गरिने भएको छ । तामाङ र नेवा भाषाको प्रवद्र्धन गर्न स्थानीय पाठ्यक्रमका रुपमा विद्यालय तहमा पठनपाठनका लागि आवश्यक व्यवस्था मिलाइने भएको छ । नगर प्रमुख लामाका अनुसार चुरे सुरुङको पर्यटकीय सम्भावना अभिवृद्धि गर्न संघ र प्रदेश सरकारको समन्वय एवम् सहकार्यमा प्रवर्धनात्मक कार्य गरिने भएको छ ।
‘मेयरसंग जनता स्वास्थ्य कार्यक्रम’ अन्तर्गत ज्येष्ठ नागरिक, अपाङ्ग तथा एकल महिला/पुरुषलाई प्राथमिकतामा राखी समुदायस्तरमा कार्यक्रम सञ्चालन गर्ने नीति उपमहानगरको रहेको छ । उपमहानगरले आफ्नो नीति तथा कार्यक्रममा तेस्रो सन्तान जन्मलाई प्रोत्साहन नीति अवलम्बन गरेको छ ।
तेस्रो सन्तान जन्मलाई प्रोत्साहन गर्न कोष खडा गरी आवश्यक कार्यक्रम सञ्चालन गरिने नगर प्रमुख लामाले बताउनुभयो । नगर क्षेत्रमा उत्सर्जन हुने फोहोरमैलाको दिगो व्यवस्थापन गर्न सार्वजनिक निजी साझेदारी अवधारणामा फोहोर व्यवस्थापन कार्यलाई उपमहानगरले निरन्तरता दिने भएको छ । डिजिटल सिटीको अवधारणालाई अघि बढाउने नीति समेत उपमहानगरपालिकाको रहेको छ ।
आगामी आर्थिक वर्षमा हेटौँडा १४ मा सार्वजनिक निजी साझेदारीको अवधारणमा सुविधा सम्पन्न फन पार्क निर्माण गर्ने, किसान सूचीकरणको कार्य आगामी आवमा सम्पन्न गर्ने, किसान वर्गीकरण र किसान परिचयपत्र वितरण गरिने भएको छ । बजेट सार्वजनिक कार्यक्रमलाई सम्बाेधन गर्दै नगरप्रमुख मीनाकुमारी लामाले नगरलाई हरेक पक्षबाट सवल र सक्षम बनाउने याेजनाका साथ बजेट सार्वजनिक भएको बताउनु भयो । उहाँले नगरको समग्र विकासका लागि सबैलाई सकारात्मक बन्न आग्रह गर्नुभयो ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया