काठमाडौं। वरिष्ठ साहित्यकार तथा पत्रकार विजय चालिसेको निधन भएको छ । क्यान्सर रोगबाट पीडित चालिसेको ७४ वर्षको उमेरमा निधन भएको हो ।
केही समय यता भक्तपुर क्यान्सर अस्पतालमा उपचाररत चालिसेहाल घरमै आराम गरिरहनुभएको थियो उहाँलाई छाती दुख्ने समस्याले सताएपछि आज बिहानै अत्तरखेलस्थित नेपाल मेडिकल कलेज पुर्याइएको थियो ।
अस्पतालमै बिहान १० बजेर १५ मिनेट जाँदा उहाँको निधन भएको हो ।
गोकर्णेश्वर निवासी चालिसेको आजै गोकर्णेश्वर घाटमा मृत्युसंस्कार सम्पन्न गरिँने वताइएको छ ।
चालिसे प्रेस चौतारी नेपालको संस्थापक अध्यक्ष समेत हुनुहुन्थ्यो ।चालिसे गोरखापत्र संस्थानका पूर्व कार्यकारी अध्यक्ष तथा गैरखापत्र दैनिकका पूर्व सम्पादक समेत हुनुभएको थियो । साथै, उहाँले साहित्यिक पत्रिका मधुपर्क र युवामञ्चको सम्पादकका रुपमा समेत काम गर्नुभएको थियो ।
चालिसे वरिष्ठ साहित्यकार रमेश विकलका छोरा हुनुहुन्छ । उहाँ विकल जीवितै रहँदा रोचक घिमिरेको अध्यक्षतामा स्थापित रमेश विकल प्रतिष्ठानको महासचिव हुनुहुन्थ्यो ।
पत्रकारिता र साहित्यमा विजय चालिसेको नामबाट परिचित उहाँको पूरा नाम विजयकुमार चालिसे हो ।
बेलायतबाट पत्रकारितामा डिप्लोमा गर्नुभएका चालिसेले ‘सञ्चारका सिद्धान्त’ नामक पत्रकारिताको पुस्तक पनि प्रकाशन गर्नुभएको छ । गोरखापत्र दैनिक १२५ वर्ष प्रवेशका अवसरमा गएको वैशाख २४ गते आयोजित विशेष समारोहमा उहाँलाई ५० हजार राशिको ‘रामचन्द्र–इन्द्र पत्रकारिता पुरस्कार’बाट सम्मानित गरिएको थियो ।
वि.सं. २००८ असार २२ गते शुक्रबार जोरपार्टी आरुबारी काठमाडौँमा जन्मिनुभएका चालिसे लामो समयदेखि कथाहरू, उपन्यासहरू र नाटकहरू मार्फत बालबालिकालाई केन्द्रमा राखी विविध साहित्यिक विधामा निरन्तर कलम चलाउँदै आउनुभएको थियो ।
अनि कुइरो फाट्छ,होटल राँकिमा हत्या,प्रयोग प्रत्यारोपण,त्रिविध,भग्न आस्थाको खण्डहर,अग्नि चक्र,विज्ञानको कैदी,खोसिएको सपना,ओह नेपारु,अप्रिलको बेलायत,दयालु राजकुमार,बादलका बुट्टाहरु,मुस्तागको गुफा,लालुको यात्रा,युगसन्धि लगायत दर्जनौ उपन्यास, कथासंग्रह, बालसाहित्यका पुस्तकहरु प्रकाशित गरेका चालिसे विभिन्न साहित्यिक पत्रिकाका सम्पादन समेत गरेका छन् ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया