काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको भावनाअनुसार आम नागरिकको स्वास्थ्यमा समान पहुँच पुर्याउन र स्वास्थ्य सेवाको गुणस्तरमा वृद्धि गर्नेतर्फ ध्यान केन्द्रित गर्नुपर्ने बताउनुभएको छ । नेपाल चिकित्सक सङ्घद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले राष्ट्रले दक्ष र विज्ञ चिकित्सक उत्पादनमा गरेको लगानी संविधानको त्यही भावना र मर्मअनुसार भएको बताउनुभयो । उहाँले भन्नुभयो, “संविधानको यो भावना र मर्मलाई आत्मसात् गर्दै चिकित्सकले यो पेशालाई सेवा भावको दृष्टिकोणले हेर्नुहुनेछ भन्ने विश्वास लिएको छु ।”
राष्ट्रपति पौडेलले नेपाली जनताको ठूलो सङ्घर्ष, त्याग र बलिदानबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानले नेपाली नागरिकलाई स्वास्थ्य, शिक्षा जस्ता आधारभूत आवश्यकता प्रत्याभूतिको व्यवस्था सुनिश्चित गरेको स्पष्ट पार्नुभयो । उहाँले देशका दुर्गममा अझै पनि नागरिकले उपयुक्त स्वास्थ्य सेवा प्राप्त गर्न नसकिरहेको अवस्था रहेको उल्लेख गर्दै यो अवस्थालाई गम्भीरतापूर्वक लिएर देशका कुना, कुनामा दक्ष, विज्ञ चिकित्सकको सेवा पुर्याउन आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘आजको यस विशेष अवसरमा सबैलाई आ–आफ्नो क्षेत्रबाट स्वास्थ्य क्षेत्रको समग्र विकासमा योगदान पुर्याउन आह्वान गर्दछु ।’
राष्ट्रपति पौडेलले हाल देशको स्वास्थ्य शिक्षा अब्बल हुँदै दक्ष र विज्ञ चिकित्सक नेपालमै उत्पादन हुनु सुखद पक्ष भएको उल्लेख गर्दै नेपालमै स्तरीय स्वास्थ्य सेवा तथा उपचार हुन थालेको आफैँले अनुभव गरेको बताउनुभयो । उहाँले स्वास्थ्य सेवामा सुधार हुँदाहुँदै पनि सम्पूर्ण जनशक्तिले पर्याप्त अवसर नपाएको भन्ने गुनासो आइरहेको र त्यसको परिणाम चिकित्सक विदेशिने क्रम बढ्नु चिन्ताको विषय भएको बताउनुभयो । यसलाई रोक्न सम्बद्ध पक्षले उपयुक्त कदम चाल्नुपर्ने उहाँको भनाइ थियो ।
देशको स्वास्थ्य क्षेत्रमा उल्लेखनीय सुधार गर्न तथा गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गर्न आगामी दिनमा नेपाल चिकित्सक सङ्घको भूमिका अझ प्रभावकारी हुने राष्ट्रपति पौडेलले बताउनुभयो । सो अवसरमा ‘लिजेन्ड इन मेडिसिन’बाट डा. गौरीशङ्करलाल दास, डा. मृगेन्द्रराज पाण्डे, डा. दिनेशनाथ गङ्गोल, डा. डिबी कार्की र डा. सरस्वती पाध्येलाई राष्ट्रपति पौडेलले सम्मान गर्नुभएको थियो । रासस
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया