काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि बस्दैछ। बिहिबारबाट सुरु भएको बैठक आज पनि दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने प्रवक्ता अग्निप्रसाद सापकोटाले बताए।
आज सकिने बैठकले भोलिबाट सुरु हुने केन्द्रीय कमिटीको बैठकको एजेण्डा तय गर्नेछ। बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि छलफल चलिरहेको छ। प्रचण्डले स्थायी कमिटीको बैठकमा आएको सुझावलाई समेटेर भोलिको बैठकमा ‘पार्टी रुपान्तरण र पुनर्निर्माणको संकल्प आजको आवश्यकता’ भन्ने शीर्षकमा प्रतिवेदन पेश गर्दैछन्।
त्यसबाहेक बैठकले प्रचण्डको प्रतिवेदनमा पछिल्ला समामयिक राजनीतिक घटनाक्रम, आगामी कार्ययोजना, प्रतिपक्षमा रहेको पार्टीको भूमिकालगायतको विषय समेटिनेछन् ।आफू नेतृत्वको सरकार ढलेर प्रतिपक्षमा पुगेको पाँच महिनापछि प्रचण्डले सिंगो केन्द्रीय कमिटीको बैठक पहिलो पटक फेस गर्दैछन् । केन्द्रीय कमिटीको बैठकअघि प्रचण्डले सबै प्रदेशस्तरीय परामर्श बैठक गरेका थिए ।
एमाले र कांग्रेस मिलेपछि सरकारबाट बाहिरिएको परिस्थितिलाई पार्टी निर्माण गर्न अवसरको रुपमा लिने माओवादीको निष्कर्ष छ । यही केन्द्रीय कमिटीको बैठकबाट संगठन निर्माणको अभियानबारे निर्णय पनि गर्दैछ । माओवादीमा उपमहासचिव जनार्दन शर्माले प्रचण्डले नेतृत्व छाड्नुपर्नेदेखि प्रदेशस्तरीय परामर्श समितिको बैठकमा आएको सुझावलाई दस्तावेजमा समेट्ने तयारी गरेका छन् । शर्माको प्रस्ताव केन्द्रीय कमिटीको बैठकमा पनि छलफलमा लैजाने प्रचण्डले आश्वासन दिएपछि पार्टीभित्र देखिएको तरंग हल भएको थियो ।
माओवादीले यही केन्द्रीय कमिटीको बैठकबाट नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा, महेन्द्रराय यादव नेतृत्वको नेसपासँग एकता गर्ने निर्णय गर्ने तयारी पनि गरेको छ । आगामी महाधिवेशनबाट केन्द्रीय कमिटी, पदाधिकारीसहित अन्य कमिटी पनि विधान अनुसार सानो बनाउनुपर्नेमा नेताहरूको जोड छ ।
यो केन्द्रीय कमिटीको बैठकमा ८२५ जना सहभागी हुँदैछन् । माओवादीमा विशेष महाधिवेशनमा गएर विधानअनुसार पदाधिकारी र केन्द्रीय कमिटीको संख्या घटाउनुपर्ने दबाब बढ्दो छ । माओवादीले सरकारविरुद्ध खबरदारी सभालाई पनि निरन्तरता दिँदैछ। माओवादीका सांसद सुदन किरातीले प्रचण्ड नेतृत्वको सरकारकारले जगाएको आशामा ओली सरकारले निराशा थपेको टिप्पणी गरे।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया