काठमाडौँ : काठमाडौँ महानगरपालिकाले साविक स्थानीय निकायलाई ‘निर्णय गर्ने’ र ‘निर्णय कार्यान्वयन गर्ने’ अधिकार प्रदान गर्नमा स्व प्रेमलाल (पिएल) सिंहको अतुलनीय योगदान रहेको जनाएको छ । आज निधन हुनुभएका सिंहको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गर्ने क्रममा कामपाका प्रमुख बालेन्द्र शाह र उपप्रमुख सुनीता डङ्गोलले उहाँको योगदानको स्मरण गर्नुभएको हो । स्थानीय स्वायत्त शासन ऐन २०५५ जारी हुनुमा स्व सिंहको महत्वपूर्ण भूमिका रहेको उहाँहरुको भनाइ छ । “प्रजातन्त्र पुनःस्थापना पछि भएको स्थानीय निर्वाचनबाट काठमाडौँ नगरपालिकाको प्रमुखका रुपमा निर्वाचित भएपछि उहाँको दृष्टि स्थानीय स्वायत्ततामा थियो”, महानगर प्रमुख शाहले भन्नुभयो ।
चाक्सीबारी पुगेर पुष्पगुच्छा अर्पण गर्दै प्रमुख शाह र उपप्रमुख डंगोलले पूर्वप्रमुख सिंहको पार्थिव शरीरलाई विदाइ र शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नुभयो । विसं १९९६ चैत ११ गते जन्मनुभएका सिंहको पेटमा अल्सर भएपछि गतवर्ष शल्यक्रिया गरिएको थियो । उहाँको कार्यकालमा घोषणा भएको महानगर ३०औँ वर्ष प्रवेश गरेको अवसरमा उहाँलाई गत मङ्सिर २९ गते कामपाले सम्मान गरेको थियो । स्वास्थ्य प्रतिकूलताका कारण सम्मान ग्रहण गर्न समारोहमा आउन सक्नुभएको थिएन । स्व. सिंहले ३०आँै महानगर दिवसमा शुभेच्छा भने प्रकट गर्नुभएको थियो ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया