रुपन्देही । अर्घाखाँचीको भूमिकास्थान नगरपालिकामा मेयरको हस्ताक्षरसहित संचालनको नक्कली कागजपत्र बनाउने एक व्यवसायी पक्राउ परेका छन् । मेयर झविलाल थापाले दिएको उजुरीका आधारमा पक्राउ परेका ती व्यवसायीले वडाध्यक्षसहित ३ जनाको मिलेमतो रहेको बयान दिएपछि उनीहरु तीनै जना फरार छन् ।
भूमिकास्थानमा रहेको चुनढुंगा उत्खनन् अनुमतिपत्र नक्कली प्रकरणमा व्यवसायी पक्राउ परेपछि अर्घाखाँचीमा नयाँ तरंग आएको हो । भूमिकास्थान नगरपालिका–९, पातले खोलामा रहेको चुनढुंगा उत्खनन्को अनुमति पत्र नक्कली रहेको भन्दै नगरपालिका प्रमुख झविलाल थापाले नै प्रहरीमा उजुरी दिएपछि छानबिन गर्न प्रहरीले कम्पनीका प्रतिनिधि नवाफ अलीलाई पक्राउ गरेको हो ।
थापा राष्ट्रिय जनमोर्चाबाट निर्वाचित भएका हुन् । तर उनको निवेदनका आधारमा पक्राउ परेका अलीले जनमोर्चाबाटै निर्वाचित वडाध्यक्ष र अन्य २ जना जनमोर्चाकै नेतालाई पोलेपछि थापालाई यो विषयले तनाव पुर्याएको छ ।
अलीले दिएको बयानका आधारमा चुनढुंगा उत्खनन् अनुमति–पत्र नक्कली प्रकरणमा थप अनुसन्धान गर्न भन्दै तीन जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । पक्राउ परेका अलीले बयानका क्रममा आफूलाई नगरको अनुमतिसहितको पत्र दिएको बताएपछि तीन जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको हो ।
यो प्रकरणमा राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष थम्मन केसी, भूमिकास्थान नगरपालिका– ४ का वडाध्यक्ष बाबुराम पन्थी सुनार र जागृत केसीका नाममा पक्राउ पुर्जी जारी भएपछि मेयर थापालाई तनाव बढाएको हो । केसी, पन्थी, केसी अहिले सम्पर्कविहीन छन् ।
मेयर थापाले आफ्नो नगरको कागजपत्र र हस्ताक्षर नक्कली बनाएको विषयमा आफूले निवेदन दिएको र ती व्यक्ति पक्राउ परेको नेपाल प्रेसलाई बताए ।
© 2025: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd