काठमाडौं । फ्रान्समा महँगी, जीवनयापनको बढ्दो लागत र सार्वजनिक सेवासम्बन्धी माग राख्दै भएका प्रदर्शनका क्रममा करिब एक हजार जना पक्राउ परेका छन् । फ्रान्सका गृहमन्त्री लोरेन्ट नुनेजले पक्राउ पर्नेको अन्तिम विवरण संकलन भइरहेको र यो संख्या अझै बढ्न सक्ने बताएका छन् ।
शनिबार देशका विभिन्न सहरमा प्रदर्शनकारी र प्रहरीबीच झडप भएका थिए । तर, अघिल्लो शनिबारको तुलनामा यसपटक हिंसा र अशान्ति कम फैलिएको बताइएको छ । सम्भावित हिंसा तथा लुटपाट नियन्त्रण गर्न सरकारले सुरक्षा व्यवस्था कडा पारेको थियो ।
गृहमन्त्री नुनेजले विभिन्न स्थानमा हुन सक्ने लुटपाटका घटना रोक्न सुरक्षा निकाय सफल भएको बताएका छन् । प्रदर्शनका क्रममा केही स्थानमा प्रहरी र प्रदर्शनकारीबीच तनाव उत्पन्न भए पनि अघिल्लो साताको जस्तो व्यापक तोडफोड र लुटपाट हुन नदिन सुरक्षा निकाय परिचालित गरिएको थियो ।
गत साता फ्रान्सका विभिन्न सहरमा भएका प्रदर्शनका क्रममा सार्वजनिक भवनमा तोडफोड र आगजनी हुनुका साथै पसलहरूमा लुटपाट भएको थियो । त्यसबेला करिब एक हजार ५०० पसल प्रभावित भएको बताइएको थियो । घटनामा सार्वजनिक तथा निजी सम्पत्तिमा ठूलो क्षति पुगेको थियो ।
गत साताको प्रदर्शनपछि गृहमन्त्री नुनेजले दुई हजारभन्दा बढी व्यक्ति पक्राउ परेको जानकारी दिएका थिए । विभिन्न समाचार संस्थाका अनुसार त्यसपछिका विवरणमा पक्राउ पर्नेको संख्या दुई हजार ३०० भन्दा बढी पुगेको थियो । उक्त प्रदर्शनका क्रममा प्रहरी, जाँडार्म तथा अग्निनियन्त्रक गरी सयौँ सुरक्षाकर्मी घाइते भएका थिए ।
फ्रान्समा पछिल्लो समय बढ्दो महँगी, जीवनयापनको खर्च र सार्वजनिक सेवाको अवस्थालाई लिएर असन्तुष्टि बढिरहेको छ । विद्यार्थी, श्रमिक तथा विभिन्न समूह प्रदर्शनमा सहभागी हुँदै आएका छन् । प्रदर्शनका क्रममा भएका हिंसात्मक घटनाले सरकारमाथि सार्वजनिक सुरक्षा र सम्पत्तिको संरक्षण गर्न थप दबाब परेको छ ।
सरकारले शान्तिपूर्ण प्रदर्शनलाई नागरिकको अधिकारका रूपमा स्वीकार गरे पनि तोडफोड, आगजनी र लुटपाटलाई नियन्त्रण गर्न कडा कदम चाल्ने जनाएको छ ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया