काठमाडौं, साउन २६ — नेपालका दुई महत्वपूर्ण ऐतिहासिक सन्धि सुगौली सन्धि र नेपाल–भारत शान्ति तथा मैत्री सन्धिको औपचारिक मूल दस्ताबेज नेपाल सरकारसँग भए/नभएको नै यकिन नभएको खुलेको छ।
परराष्ट्रमन्त्री शिशिर खनालले सोमबार प्रतिनिधिसभामा सरकारसँग यी दुवै सन्धिका केही दस्ताबेज रहेको जानकारी भए पनि ती नै औपचारिक सन्धिका मूल प्रति हुन् कि होइनन् भन्ने यकिन नभएको बताएका हुन्।
नेपाली कांग्रेसका सांसद निश्कल राईले बेलायतसँग भएको १८१६ को सुगौली सन्धि तथा भारतसँग भएको १९५० को नेपाल–भारत मैत्री सन्धिको ‘ओरिजिनल कपी’ नेपालसँग छ कि छैन भनेर प्रश्न गरेका थिए। जवाफमा मन्त्री खनालले सरकारसँग उपलब्ध अभिलेखबारे नै थप यकिन गर्नुपर्ने अवस्था रहेको स्पष्ट पारे।
उनका अनुसार राष्ट्रिय अभिलेखालयमा १८१६ को सुगौली सन्धि र १९५० को नेपाल–भारत मैत्री सन्धिसँग सम्बन्धित केही दस्ताबेज रहेका छन्। तर ती दस्ताबेज औपचारिक सन्धिका प्रमाणित मूल प्रति हुन् वा अन्य सम्बन्धित कागजात मात्रै हुन् भन्ने पुष्टि हुन नसकेको उनले बताए।
मन्त्री खनालको यो जवाफसँगै नेपालका महत्वपूर्ण ऐतिहासिक तथा कूटनीतिक दस्ताबेजको संरक्षण र अभिलेखीकरणको अवस्थामाथि समेत प्रश्न उठेको छ। दुई देशसँगको सम्बन्ध तथा नेपालको सीमा र कूटनीतिक इतिहाससँग प्रत्यक्ष जोडिएका सन्धिका मूल दस्ताबेजबारे राज्यसँग स्पष्ट अभिलेख नहुनु अभिलेख व्यवस्थापनको गम्भीर विषयका रूपमा देखिएको छ।
सरकारले राष्ट्रिय अभिलेखालयमा रहेका दस्ताबेजको प्रमाणीकरण तथा औपचारिक अभिलेखको अवस्थाबारे थप स्पष्टता दिनुपर्ने आवश्यकता देखिएको छ।
प्रतिक्रिया