काठमाडौं, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री विपिनकुमार आचार्यले सुनसरी, सिरहालगायतका पछिल्ला हिंसात्मक घटनामा नागरिकमाथि गोली चल्नु गम्भीर विषय भएकाले त्यसको जिम्मेवारी प्रधानमन्त्री, गृहमन्त्रीसहित राज्य संयन्त्रका नेतृत्व तहले लिनुपर्ने बताएका छन्।
एक सञ्चारमाध्यमसँग कुराकानी गर्ने क्रममा आचार्यले लोकतान्त्रिक मुलुकमा नागरिकमाथि गोली चल्नु अत्यन्तै संवेदनशील र दुःखद अवस्था भएको उल्लेख गर्दै यस्तो घटनाको नैतिक तथा संस्थागत जिम्मेवारी राज्य नेतृत्वमा रहने बताए।
उनले जिम्मेवारी लिनु भनेको अनिवार्य रूपमा राजीनामा दिनु नै हो भन्ने अर्थ नलाग्ने स्पष्ट पारे। उनका अनुसार कुनै घटनाको प्रकृति, गम्भीरता र संरचनागत जिम्मेवारीका आधारमा राजीनामाको विषयमा छुट्टै बहस हुनुपर्ने हुन्छ।
आचार्यले हरेक घटनामा स्वतः राजीनामा माग्ने प्रवृत्ति उचित नहुने धारणा पनि राखे। पहिले रास्वपाले यस्तै घटनामा प्रधानमन्त्री वा गृहमन्त्रीको राजीनामा मागेको प्रसंगबारे सोधिएको प्रश्नमा उनले त्यसबेलाको अवस्था र अहिलेको परिस्थिति फरक रहेको बताए।
उनले आफू कुनै पनि घटनालाई समयअनुसार फरक मापदण्डबाट मूल्यांकन गर्ने पक्षमा नरहेको स्पष्ट गर्दै लोकतान्त्रिक समाजमा नागरिकमाथि गोली चल्नु सधैं अस्वीकार्य हुने बताए। नेतृत्व जति माथिल्लो तहमा पुग्छ, त्यति नै बढी जिम्मेवारी पनि हुने उनको भनाइ थियो।
आचार्यले पछिल्ला घटनाबाट सरकारले पाठ सिकेर भविष्यमा यस्ता घटना दोहोरिन नदिने गरी काम गर्नुपर्ने आवश्यकता औंल्याए। सुनसरीको घटना धनुषाभन्दा पश्चिम फैलिन नदिनुलाई मात्रै उपलब्धि मानेर सरकार उम्किन नहुने उनको टिप्पणी थियो।
यसैबीच उनले संसद्को पछिल्लो चार महिनाको कार्यसम्पादनप्रति पनि असन्तुष्टि जनाए। चार महिनाको अवधिको मूल्यांकनमा ४० अंकलाई उत्तीर्ण मापदण्ड मान्ने हो भने संसद् ‘फेल’ भएको उनको टिप्पणी थियो।
उनका अनुसार हालको संसदीय अभ्यासले अपेक्षित नतिजा दिन नसकेको र सांसदहरूले संसद्मा उठाएका विषय सम्बोधन हुने प्रभावकारी संयन्त्र पनि नरहेको अवस्था छ। संसद् खुल्दा समेत बैठकमा सांसदहरूको उपस्थिति र उत्साह घट्दै गएको उनको भनाइ थियो।
आचार्यले राज्यले एक सांसदमाथि ठूलो लगानी गर्ने भएकाले त्यसअनुसार संसद्बाट प्रभावकारी नतिजा आउनुपर्नेमा जोड दिएका छन्।
प्रतिक्रिया