logo

२०८३ भाद्र २६ शुक्रबार

logo
  • २०८३ भाद्र २६ शुक्रबार
  • राष्ट्रसंघमा बालेनले उठाउनेछन् नेपालको जलवायु संकट : जलवायु न्यायका लागि विश्व समुदायसँग अपिल

    736Shares
    राष्ट्रसंघमा बालेनले उठाउनेछन् नेपालको जलवायु संकट : जलवायु न्यायका लागि विश्व समुदायसँग अपिल

    समाचारका महत्वपूर्ण बुँदा

    • जलवायु संकट:   राष्ट्रसंघमा नेपालको जलवायु संकटलाई प्राथमिकताका साथ उठाउने।
    • जलवायु न्याय: नेपालले नगण्य कार्बन उत्सर्जन गरे पनि जलवायु परिवर्तनको ठूलो असर भोगिरहेको विषय उठाइने।
    • बाढीको क्षति: रसुवाको भोटेकोसीमा आएको बाढीलाई नेपालको जलवायु जोखिमको पछिल्लो उदाहरणका रूपमा प्रस्तुत गरिने।
    • लस्ट एन्ड ड्यामेज फन्ड: जलवायुजन्य क्षतिको सामना गर्न नेपालले ‘फन्ड फर रेस्पोन्डिङ टु लस्ट एण्ड ड्यामेज’ लगायतका निकायबाट तत्काल सहयोग माग्ने।
    • जलवायु वित्त: धनी तथा विकसित मुलुकसँग सहज र सहुलियतपूर्ण जलवायु वित्त उपलब्ध गराउन अपिल गरिने।
    • जलवायु प्रतिरोधी पूर्वाधार: नेपालमा Climate Resilient Infrastructure निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोग मागिने।
    • जलवायु स्मार्ट कृषि: जलवायु परिवर्तनसँग अनुकूल हुने कृषि प्रणाली प्रवर्द्धनमा सहयोगको माग गरिने।
    • प्रविधि र क्षमता विकास: आवश्यक प्रविधि हस्तान्तरण तथा सरोकारवालाको क्षमता विकासमा सहयोग मागिने।
    • नेपालको वातावरणीय योगदान: ४६ प्रतिशतभन्दा बढी वन, हिमालय र नदी प्रणालीमार्फत नेपालले विश्व वातावरण संरक्षणमा पुर्‍याएको योगदान प्रस्तुत गरिने।
    • ‘सगरमाथा टु सी’ कार्यक्रम: हिमालयमा जलवायु परिवर्तनले पारेको असरबारे उच्चस्तरीय छलफल आयोजना गरिने।
    • महासभाको मिति: प्रधानमन्त्री शाह असोज ६ गते न्युयोर्क जाने, असोज ८ गते सम्बोधन गर्ने र असोज १० गते स्वदेश फर्कने कार्यक्रम।
    • अन्तर्राष्ट्रिय सहभागिता: ८१औँ महासभामा १३१ देशका राष्ट्र तथा सरकार प्रमुख सहभागी हुने।
    • नेपालको राजनीतिक सन्देश: जेनजी आन्दोलन, त्यसपछिको निर्वाचन र वर्तमान सरकारका प्राथमिकताबारे अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराइने।
    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा नेपालको जलवायु संकट र त्यसबाट मुलुकले भोग्दै आएको जनधनको क्षतिको विषयलाई प्राथमिकताका साथ उठाउने भएका छन् ।

    महासभामा सहभागी हुन प्रधानमन्त्री शाह आगामी असोज ६ गते अमेरिकाको न्युयोर्क प्रस्थान गर्नेछन् । उनले असोज ८ गते संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने र असोज १० गते स्वदेश फर्कने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

    परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईका अनुसार प्रधानमन्त्री शाहको सम्बोधनमा जलवायु परिवर्तन र त्यसले नेपालमा पारेको प्रभावमा विशेष जोड हुनेछ ।

    नेपालले विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनमा नगण्य योगदान गरे पनि जलवायु परिवर्तनका कारण सिर्जित बाढी, पहिरो तथा अन्य प्रकोपबाट ठूलो क्षति व्यहोर्दै आएको विषय प्रधानमन्त्री शाहले विश्व समुदायसमक्ष प्रस्तुत गर्नेछन् ।

    भदौ १० गते रसुवाको भोटेकोसी नदीमा आएको बाढीबाट भएको ठूलो क्षतिलाई पनि नेपालको जलवायु संकटको पछिल्लो उदाहरणका रूपमा प्रस्तुत गरिने भएको छ । परराष्ट्र सचिव राईका अनुसार उक्त घटनाले नेपाल जलवायु संकटको अग्रपङ्क्तिमा रहेको विषयलाई पुनः पुष्टि गरेको छ ।

    प्रधानमन्त्री शाहले जलवायु न्यायको विषयमा समेत विकसित तथा धनी मुलुकहरूको ध्यानाकर्षण गराउने भएका छन् । नेपालले नगण्य कार्बन उत्सर्जन गरे पनि जलवायु परिवर्तनको असमान असर भोगिरहेको विषयलाई अन्तर्राष्ट्रिय मञ्चमा जोडदार रूपमा उठाउने तयारी छ ।

    नेपालले ‘फन्ड फर रेस्पोन्डिङ टु लस्ट एण्ड ड्यामेज’ लगायतका संयन्त्रबाट तत्काल उचित सहयोग प्राप्त गर्नुपर्ने विषयमा पनि प्रधानमन्त्री शाहले विश्व समुदायलाई अपिल गर्नेछन् ।

    त्यस्तै, नेपालमा जलवायु जोखिम प्रतिरोधी पूर्वाधार निर्माण, जलवायु स्मार्ट कृषि प्रवर्द्धन तथा सरोकारवालाको क्षमता विकासका लागि आवश्यक प्रविधि र जलवायु वित्त सहज तथा सहुलियतपूर्ण रूपमा उपलब्ध गराउन विकसित मुलुकहरूसँग आग्रह गरिने भएको छ ।

    प्रधानमन्त्री शाहले नेपालले विश्व वातावरण संरक्षणमा पुर्‍याउँदै आएको योगदानको विषय पनि महासभामा प्रस्तुत गर्नेछन् । नेपालमा ४६ प्रतिशतभन्दा बढी वन क्षेत्र, विशाल हिमालय क्षेत्र र वृहत् नदी प्रणाली रहेको उल्लेख गर्दै प्रकृतिसँगको सहअस्तित्वमा आधारित नेपाली जीवनशैली र वातावरण संरक्षणमा नेपालको योगदानबारे विश्व समुदायलाई जानकारी गराइनेछ ।

    यसै अवसरमा नेपालले ‘सगरमाथा टु सी’ विषयक उच्चस्तरीय साइड इभेन्टसमेत आयोजना गर्ने भएको छ । हिमालय क्षेत्रमा जलवायु परिवर्तनले पारेको नकारात्मक प्रभाव र त्यसबाट सिर्जित विनाशकारी परिणामबारे छलफल गर्दै विश्व समुदायको ध्यानाकर्षण गर्नु उक्त कार्यक्रमको मुख्य उद्देश्य रहेको परराष्ट्र सचिव राईले बताएका छन् ।

    संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री शाहसहित १३१ देशका राष्ट्र तथा सरकार प्रमुख सहभागी हुनेछन् । सचिव राईका अनुसार ८१ राष्ट्रका राष्ट्र प्रमुख र ५० मुलुकका सरकार प्रमुख महासभामा सहभागी हुँदैछन् ।

    महासभालाई नेपालले अन्तर्राष्ट्रिय समुदायसमक्ष आफ्ना प्राथमिकता र पछिल्लो राजनीतिक परिवर्तनबारे जानकारी गराउने अवसरका रूपमा समेत उपयोग गर्ने भएको छ । गत वर्ष भएको जेनजी आन्दोलन, त्यसपछि भएको निर्वाचन र ठूलो जनमतसहित गठन भएको वर्तमान सरकारका प्राथमिकताबारे अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउँदै अन्तर्राष्ट्रिय सहयोग र सद्भाव बढाउन पहल गरिने परराष्ट्र मन्त्रालयले जनाएको छ ।



    फास्ट न्युज    
  • २०८३ भाद्र २६, शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट