राजविराज — स्वास्थ्य सेवा लिन अस्पताल पुगेकी एक महिलाले अस्पताल परिसरबाहिरै बच्चा जन्माउनुपरेको घटनाले सेवा प्रवाहमाथि प्रश्न उठाएपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले छानबिन अघि बढाएको छ।
घटनालाई गम्भीर रूपमा लिँदै मन्त्रालयले राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालसँग स्पष्टीकरण मागेको छ। घटनाको वास्तविकता पत्ता लगाउन तत्काल छानबिन टोलीसमेत राजविराज पठाइएको स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले जानकारी दिएकी छन्।
मन्त्री मेहताका अनुसार छानबिनबाट घटनाको वास्तविक कारण र अस्पताल तथा सम्बन्धित व्यक्तिको भूमिकाबारे स्पष्ट पारिनेछ। छानबिनका क्रममा गल्ती वा लापरबाही पुष्टि भएमा दोषीमाथि प्रचलित कानुनअनुसार कारबाही गरिने मन्त्रालयको भनाइ छ।
मन्त्री मेहताले स्वास्थ्य संस्थामा पुग्ने प्रत्येक नागरिकले समयमै उपचारसँगै सम्मान र मानवीय व्यवहार पाउनुपर्ने बताएकी छन्। यही आधारमा घटनालाई मन्त्रालयले गम्भीरतापूर्वक लिएको उनको भनाइ छ।
अस्पताल परिसरबाहिरै प्रसूति हुन पुगेको घटनाले स्वास्थ्य संस्थामा आकस्मिक तथा प्रसूति सेवा प्रवाहको अवस्थाबारे समेत प्रश्न उठाएको छ। अब मन्त्रालयको छानबिनले महिला अस्पतालबाहिरै बच्चा जन्माउनुपर्ने अवस्था कसरी सिर्जना भयो भन्ने विषय स्पष्ट पार्ने अपेक्षा गरिएको छ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया