logo

२०८३ भाद्र १९ शुक्रबार

logo
  • २०८३ भाद्र १९ शुक्रबार
  • कांग्रेस संस्थापनइतर पक्षले छुट्टै महाधिवेशनको कार्यतालिका सार्वजनिक गर्‍यो, मंसिर २१–२३ मा काठमाडौंमा महाधिवेशन

    721Shares
    कांग्रेस संस्थापनइतर पक्षले छुट्टै महाधिवेशनको कार्यतालिका सार्वजनिक गर्‍यो, मंसिर २१–२३ मा काठमाडौंमा महाधिवेशन

    काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर पक्षले पार्टीको १५औँ महाधिवेशनका लागि छुट्टै निर्वाचन प्रक्रिया अघि बढाउने निर्णय गरेको छ । डा. शशांक कोइरालाको संयोजकत्वमा बसेको महाधिवेशन तयारी समितिको बैठकले मंसिर २१ देखि २३ गतेसम्म काठमाडौंमा छुट्टै महाधिवेशन गर्ने निर्णय गरेको हो ।

    कांग्रेस संस्थापन पक्षले यसअघि नै भदौ २४ गतेदेखि वडा अधिवेशन सुरु गर्दै असोज १९ गतेसम्म १५औँ महाधिवेशन सम्पन्न गर्ने कार्यतालिका सार्वजनिक गरिसकेको छ । त्यसको समानान्तर रूपमा संस्थापनइतर पक्षले आफ्नै महाधिवेशनको कार्यतालिका तय गरेपछि कांग्रेसभित्र संगठनात्मक प्रक्रिया दुई धारमा अघि बढ्ने अवस्था बनेको छ ।

    चुनदेवीस्थित सम्पर्क कार्यालयमा भदौ १७ गतेदेखि बसेको तयारी समितिको बैठकले संस्थापनइतर पक्षको महाधिवेशनका लागि असोज १५ गते वडा अधिवेशन गर्ने निर्णय गरेको छ । त्यसपछि असोज २० गते पालिका, असोज २३ गते प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचन क्षेत्र र कात्तिक १५ गते जिल्ला अधिवेशन गर्ने कार्यतालिका तय गरिएको छ ।

    त्यस्तै, मंसिर ४ गते प्रदेश अधिवेशन गर्ने र त्यसपछि मंसिर २१ देखि २३ गतेसम्म केन्द्रीय महाधिवेशन आयोजना गर्ने निर्णय भएको छ ।

    भोटेकोसी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङ जिल्लाको अधिवेशन कार्यतालिका भने परिस्थितिअनुसार पछि सार्वजनिक गरिने तयारी समितिले जनाएको छ ।

    कोइरालालाई संगठन निर्माणदेखि समिति गठनसम्मको जिम्मेवारी

    महाधिवेशन तयारी समितिले निर्वाचन तथा संगठन व्यवस्थापनका लागि आवश्यक विभिन्न समितिहरू गठन गर्ने अधिकार संयोजक शशांक कोइरालालाई दिएको छ ।

    कोइरालाले केन्द्रीय निर्वाचन समिति, क्रियाशील सदस्य छानबिन तथा व्यवस्थापन समिति, विधान संशोधन समिति र अनुशासन समिति गठन गर्नेछन् । त्यसैगरी नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल, नेपाल दलित संघ, आदिवासी जनजाति महासंघ, नेपाल सांस्कृतिक महासंघलगायत भ्रातृ तथा शुभेच्छुक संस्थाका तदर्थ समिति गठन गर्ने जिम्मेवारीसमेत उनलाई दिइएको छ ।

    यसले संस्थापनइतर पक्षले महाधिवेशनलाई केवल नेतृत्व चयनको प्रक्रियाका रूपमा नभई पार्टीका विभिन्न तह र भ्रातृ संगठनसम्म आफ्नो संगठनात्मक संरचना निर्माण गर्ने प्रक्रियाका रूपमा अघि बढाउन खोजेको देखिन्छ ।

    क्रियाशील सदस्यताका लागि असोज ९ को समयसीमा

    इतर पक्षले १५औँ महाधिवेशनमा सहभागी हुने क्रियाशील सदस्यताको टुंगो असोज ९ गतेभित्र लगाउने निर्णय गरेको छ ।

    १४औँ महाधिवेशनमा सहभागी भएका, २०८२ पुस १० गतेभित्र सदस्यता नवीकरण गरिसकेका तथा नयाँ सदस्यताका लागि फारम भरेका सदस्यलाई महाधिवेशनमा सहभागी गराउने तयारी गरिएको छ ।

    क्रियाशील सदस्यतामा विवाद उत्पन्न भएमा छानबिन तथा व्यवस्थापन समितिको निर्णयलाई अन्तिम मानिने जनाइएको छ ।

    महाधिवेशनका लागि सातै प्रदेश, ७७ जिल्ला, प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन क्षेत्र, पालिका र वडा तहसम्म निर्वाचन अधिकृत तथा मतदान अधिकृत खटाउने तयारीसमेत गरिएको छ ।

    यसैगरी प्रदेशसभा र स्थानीय तहका विभिन्न पदका लागि इच्छुक उम्मेदवारहरूको नामावली संकलन तथा छनोट प्रक्रिया अघि बढाउने निर्णय पनि बैठकले गरेको छ ।

    बीपी जयन्ती भक्तपुरमा मनाइने

    संस्थापनइतर पक्षले आगामी भदौ २४ गते ११३औँ बीपी जयन्ती भक्तपुरमा मनाउने निर्णय गरेको छ । कांग्रेस भक्तपुर जिल्ला सभापति दुर्लभ थापाको अध्यक्षतामा व्यवस्थापन समिति गठन गरी कार्यक्रम आयोजना गरिने जनाइएको छ ।

    महाधिवेशन तयारी समितिको अर्को बैठक भदौ २६ गते शुक्रबार दिउँसो १ बजे चुनदेवीमा बस्ने सचिवालय समन्वय समिति संयोजक दीपकप्रसाद कुँइकेलले जानकारी दिएका छन् ।

    संस्थापन पक्ष र संस्थापनइतर पक्षले आ–आफ्नै महाधिवेशन प्रक्रिया अघि बढाउने निर्णय गरेसँगै कांग्रेसको १५औँ महाधिवेशन अब पार्टीभित्रको आन्तरिक विवाद समाधान गर्नेभन्दा पनि दुई फरक संगठनात्मक प्रक्रियाबाट अघि बढ्ने सम्भावना बढेको छ । यसको वैधानिकता, प्रतिनिधित्व र नेतृत्व चयनको विषय आगामी दिनमा कांग्रेसभित्र थप निर्णायक बन्ने देखिएको छ ।



    फास्ट न्युज    
  • २०८३ भाद्र १९, शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट