काठमाडौं, प्राकृतिक विपद्का कारण विद्यार्थी, अभिभावक तथा आम नागरिकको जनजीवन प्रभावित भएपछि सरकारले भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षा स्थगित गर्न निर्देशन दिएको छ।
शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विश्वविद्यालयसम्बन्धी ऐनबाट प्राप्त अधिकार प्रयोग गर्दै सम्बन्धित विश्वविद्यालयका उपकुलपतिहरूलाई परीक्षा स्थगित गर्न निर्देशन दिएका हुन्।
मन्त्रीको निर्देशनअनुसार भदौ १३ गतेदेखि सञ्चालन हुने सबै परीक्षा स्थगित गर्नुपर्नेछ। स्थगित परीक्षाको संशोधित तालिका उपयुक्त समयमा सार्वजनिक गर्न समेत विश्वविद्यालयहरूलाई भनिएको छ।
त्यस्तै, भदौ १२ गते निर्धारित परीक्षामा विभिन्न कारणले सहभागी हुन नसकेका परीक्षार्थीका लागि उपयुक्त समयमा पुनः परीक्षा सञ्चालनको व्यवस्था मिलाउन निर्देशन दिइएको छ।
विपद्को संवेदनशील अवस्थालाई ध्यानमा राख्दै अत्यावश्यकबाहेकका भेला, गोष्ठी, सेमिनार, सभा तथा अन्य सामूहिक कार्यक्रमसमेत स्थगित गर्न मन्त्री पोखरेलले विश्वविद्यालयहरूलाई अनुरोध गरेका छन्।
विपद्बाट प्रभावित विद्यार्थी तथा अभिभावकसँग विश्वविद्यालय र सम्बन्धित शैक्षिक संस्थामार्फत निरन्तर सम्पर्क तथा समन्वय गरी आवश्यक सहयोग र सहजीकरण गर्न पनि निर्देशन दिइएको छ।
प्रभावित विद्यार्थी तथा आवश्यकताअनुसार अभिभावकका लागि मनोसामाजिक परामर्शको व्यवस्था गर्न तथा विपद्का कारण अध्ययनमा परेको असरलाई ध्यानमा राख्दै विद्यार्थीको शैक्षिक निरन्तरता कायम राख्न आवश्यक व्यवस्था मिलाउन भनिएको छ।
मन्त्री पोखरेलले विपद्को कठिन परिस्थितिमा विश्वविद्यालय परिवारका विद्यार्थी, अभिभावक, शिक्षक तथा कर्मचारीको सुरक्षा र हितलाई सर्वोच्च प्राथमिकता दिएर आवश्यक निर्णय लिन विश्वविद्यालयका पदाधिकारीलाई आग्रह गरेका छन्।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया