नयाँ दिल्ली । भारतका चर्चित शिक्षाविद्, वैज्ञानिक तथा सामाजिक अभियन्ता सोनम वाङचुकले आफूलाई नयाँ दिल्लीस्थित सफदरजङ अस्पतालमा गैरकानुनी रूपमा हिरासतमा राखिएको आरोप लगाउँदै शिक्षा प्रणालीमा सुधारका लागि आफ्नो अनिश्चितकालीन भोक हडताल जारी राखेका छन्। उनी सोमबार अनशनको २३औँ दिनमा पुगेका छन्।
सामाजिक सञ्जाल एक्समार्फत सार्वजनिक गरिएको हस्तलिखित सन्देशमा वाङचुकले अस्पतालमा रहँदा आफ्नो हिँडडुल, अभिव्यक्ति र सञ्चार स्वतन्त्रतामाथि रोक लगाइएको दाबी गरेका छन्। उनले हालको शिक्षा प्रणालीका कमजोरी, विशेषगरी नीट (NEET) परीक्षाको प्रश्नपत्र चुहावट प्रकरणको जिम्मेवारी सरकारले स्वीकार गर्नुपर्ने र केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानले नैतिक जिम्मेवारी लिनुपर्ने माग दोहोर्याएका छन्।
वाङचुकले आफूले अघि सारेका तीनमध्ये कुनै एक सर्त पूरा भए अनशन अन्त्य गर्ने बताएका छन्। उनका अनुसार सरकारले शिक्षा प्रणालीका असफलताप्रति औपचारिक रूपमा जिम्मेवारी स्वीकार गर्नुपर्छ, वा सांसद तथा ककरोच जनता पार्टी (CJP) का नेताहरूले संसदमा यो मुद्दा उठाउने स्पष्ट प्रतिबद्धता जनाउनुपर्छ। स्वास्थ्य अवस्थाका कारण आफू संसद् पुग्न नसके विभिन्न दलका सांसदहरू अस्पतालमै आएर त्यही प्रतिबद्धता व्यक्त गरे पनि अनशन तोड्न तयार रहेको उनले बताएका छन्।
वाङचुकले नयाँ दिल्लीको जन्तर–मन्तरमा गत जुन २८ देखि अनिश्चितकालीन भोक हडताल सुरु गरेका थिए। स्वास्थ्य अवस्था कमजोर बन्दै गएपछि भारतीय प्रहरीले जुलाई १८ मा उनलाई सफदरजङ अस्पतालमा भर्ना गरेको थियो। प्रहरीले स्वास्थ्य सुरक्षाका लागि अस्पताल लगिएको जनाएको छ भने वाङचुक र उनका समर्थकहरूले भने यो कदम आफूविरुद्धको बलपूर्वक हस्तक्षेप भएको दाबी गरेका छन्। यता दिल्ली उच्च अदालतले भने हाल उनलाई अस्पतालमै उपचार गराउने सरकारी निर्णयलाई तत्काल परिवर्तन गर्न अस्वीकार गरेको छ।
सोनम वाङचुक लद्दाखका प्रख्यात इन्जिनियर, आविष्कारक, शिक्षा सुधार अभियन्ता तथा वातावरण संरक्षणकर्मी हुन्। दुर्गम हिमाली क्षेत्रमा व्यवहारिक शिक्षा, दिगो प्रविधि र जलवायु अनुकूल नवप्रवर्तनका लागि उनी अन्तर्राष्ट्रिय रूपमा परिचित छन्। उनले विकास गरेको ‘आइस स्तुपा’ प्रविधिले हिमाली क्षेत्रमा पानी संरक्षणको नयाँ मोडेल प्रस्तुत गरेको छ भने सन् २०१८ मा उनलाई रमन म्याग्सेसे पुरस्कारबाट सम्मानित गरिएको थियो।
बलिउडको चर्चित चलचित्र ‘थ्री इडियट्स’ मा आमिर खानले निर्वाह गरेको ‘फुन्सुख वाङडु’ पात्रको प्रेरणा पनि सोनम वाङचुक नै मानिन्छ। यद्यपि चलचित्र उनको जीवनीमा आधारित भने होइन; त्यस पात्रमा वाङचुकको शिक्षा दर्शन, नवप्रवर्तन र वैकल्पिक सिकाइ पद्धतिबाट प्रेरणा लिइएको व्यापक रूपमा स्वीकारिन्छ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया