१६औँ गाउँसभाबाट आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम स्वीकृत, भौतिक पूर्वाधारसँगै मानव विकासलाई प्राथमिकता
खोटाङ । खोटाङको साकेला गाउँपालिकाको १६औँ गाउँसभा अधिवेशनले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ४२ करोड ५७ लाख ६५ हजार रुपैयाँको बजेट तथा नीति–कार्यक्रम पारित गरेको छ। गाउँपालिकाले शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार विकास, रोजगारी सिर्जना तथा प्रभावकारी सेवा प्रवाहलाई प्राथमिकतामा राख्दै आगामी वर्षको विकासको खाका सार्वजनिक गरेको हो।
गाउँसभा बैठकमा गाउँपालिका उपाध्यक्ष विर्सिका राईले बजेट प्रस्तुत गर्दै साकेला गाउँपालिकाले विकासलाई परम्परागत सोचभन्दा फरक दृष्टिकोणबाट अघि बढाउने नीति लिएको बताइन्। उनका अनुसार विकासको मापन केवल सडक, विद्युत्, भवन वा अन्य भौतिक संरचनाले मात्र हुँदैन, नागरिकको चेतनास्तर, गुणस्तरीय शिक्षा र सामाजिक रूपान्तरण पनि विकासका महत्वपूर्ण आधार हुन्।
उनले गाउँपालिकाले गुणस्तरीय शिक्षाको सुनिश्चितता, स्वास्थ्य सेवाको पहुँच विस्तार, कृषि क्षेत्रको आधुनिकीकरण, स्थानीय उत्पादन र उद्यमशीलताको प्रवर्द्धन, रोजगारी सिर्जना तथा पारदर्शी र प्रविधिमैत्री सेवा प्रवाहलाई केन्द्रमा राखेर बजेट तथा नीति–कार्यक्रम निर्माण गरिएको जानकारी दिइन्।
गाउँपालिका अध्यक्ष रविप्रकाश राईले गाउँसभाबाट पारित नीति तथा कार्यक्रम र बजेटले साकेलाको समग्र विकासलाई नयाँ दिशा दिने विश्वास व्यक्त गरे। उनले भौतिक पूर्वाधार निर्माणसँगै शिक्षा, जनचेतना, सुशासन र मानव विकासलाई केन्द्रमा राखेर बजेट विनियोजन गरिएको उल्लेख गर्दै त्यसको प्रभावकारिता कार्यान्वयनबाट देखिने बताए।
गाउँपालिकाका अनुसार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम दिगो, समावेशी र परिणाममुखी विकासको अवधारणामा आधारित रहेको छ। स्थानीय स्रोत–साधनको अधिकतम उपयोग गर्दै नागरिकको जीवनस्तरमा गुणात्मक सुधार ल्याउने लक्ष्यका साथ बजेट कार्यान्वयन गरिने जनाइएको छ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया