काठमाडौं । कक्षा १२ को नतिजा र मूल्याङ्कन प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरू बुधबार काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शनमा उत्रिएका छन्। नतिजा प्रकाशनमा त्रुटि भएको, पुनर्मूल्याङ्कन तथा रिटोटलिङको प्रभावकारी व्यवस्था नभएको भन्दै उनीहरूले विरोध प्रदर्शन गरेका हुन्।
प्रदर्शनमा सहभागी विद्यार्थीहरूले नतिजा सार्वजनिक गर्ने प्रक्रियामा हतार गर्दा गम्भीर त्रुटि भएको र त्यसको प्रत्यक्ष असर हजारौँ विद्यार्थीको भविष्यमा परेको आरोप लगाए। उनीहरूले निष्पक्ष छानबिन, निःशुल्क रिटोटलिङ, उत्तरपुस्तिका पुनर्परीक्षण तथा मूल्याङ्कन प्रक्रियामा पूर्ण पारदर्शिता सुनिश्चित गर्न माग गरेका छन्।
रञ्जित कार्की, साहिल रिजाल, दिवस श्रेष्ठ, स्मृति खतिवडा, अंशु पन्त र साहेब साहलगायतका विद्यार्थीहरूको नेतृत्वमा भएको प्रदर्शनमा सहभागीहरूले विभिन्न नारासहितका प्लेकार्ड बोकेका थिए। ‘१२ वर्षको मेहनत खेरको जिम्मेवार को ?’, ‘हाम्रो भविष्य बर्बाद भयो, न्याय खोज्न कहाँ जाउँ ?’ र ‘मन्त्रीहरूको अहंकारको मूल्य विद्यार्थीहरूले किन चुकाउनुपर्छ ?’ जस्ता सन्देश लेखिएका प्लेकार्डले प्रदर्शनस्थलमा सरकार र सम्बन्धित निकायप्रति आक्रोश झल्काएका थिए।
विद्यार्थीहरूको भनाइमा कक्षा १२ को नतिजासम्बन्धी विवाद केवल अंकको विषय मात्र नभई हजारौँ विद्यार्थीको शैक्षिक भविष्यसँग प्रत्यक्ष रूपमा जोडिएको संवेदनशील विषय हो। त्यसैले आफूहरूको माग तत्काल सम्बोधन नभए थप सशक्त आन्दोलनका कार्यक्रम घोषणा गर्न बाध्य हुने चेतावनी उनीहरूले दिएका छन्।
यता शिक्षा मन्त्रालयले भने कक्षा १२ को नतिजा प्रकाशन प्रक्रियामा कुनै त्रुटि नभएको दाबी गर्दै आएको छ। मन्त्रालयको यो दाबी र विद्यार्थीहरूको विरोधबीच बढ्दो विवादले कक्षा १२ को नतिजा सम्बन्धी बहसलाई थप चर्काएको छ।
विद्यार्थीहरूले उठाएका प्रश्नको निष्पक्ष र विश्वसनीय जवाफ नआएसम्म यो आन्दोलन अझै विस्तार हुन सक्ने संकेत देखिएको छ। अहिलेको मुख्य प्रश्न यही बनेको छ—
कक्षा १२ को नतिजामा उठेका आशंका सम्बोधन हुने कि विद्यार्थी आन्दोलन अझै चर्किने?


© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया