काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले आफ्नो राष्ट्रियतामाथि अनावश्यक शंका नगर्न आग्रह गरेका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनलाई सम्बोधन गर्दै उनले नेपालको सीमा र राष्ट्रियताको विषयमा आफ्नो स्पष्ट धारणा रहेको बताएका हुन्। उनले कालापानी–लिपुलेक नेपालको भूमि भएको पर्याप्त प्रमाण रहेको दाबी गरे।

प्रधानमन्त्री शाहले आवश्यक परे तत्कालीन ब्रिटिश सरकारसँग रहेका प्रमाणसमेत प्रस्तुत गर्न सकिने बताए। तर, आफूले बेलायतलाई कुनै प्रकारको मध्यस्थता गर्न नआह्वान गरेको स्पष्ट पारे।

उनले वर्तमान कार्यकालमै सुकुम्बासी समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्दै आगामी निर्वाचनमा नयाँ एजेण्डासहित जनतामाझ जाने बताए। आफ्नो नेतृत्वलाई “एक्सप्रेस बाटोमा गुडिरहेको गाडी”सँग तुलना गर्दै गन्तव्यमा नपुगेसम्म नरोकिने उल्लेख गरे।

प्रधानमन्त्री शाहले रास्वपालाई विकासमुखी पार्टीको रूपमा चित्रित गर्दै “लेफ्ट वा राइट” को बहसभन्दा विकास र परिणाममुखी राजनीतिमा केन्द्रित हुनुपर्ने बताए।

महाधिवेशनमा उनले पार्टीभित्र गुटबन्दी नगर्न नेता तथा कार्यकर्तालाई आग्रह गरे। बहुमतको सरकार भएकाले सबै एकजुट भएर महाधिवेशन सफल बनाउनुपर्ने उनको भनाइ थियो।