logo

२०८३ बैशाख १९ शनिबार

logo
  • २०८३ बैशाख १९ शनिबार
  • विदेशी हालीमुहाली संस्थागत गर्न रवि–बालेन सम्झौता: हर्क साम्पाङ

    1.1KShares
    विदेशी हालीमुहाली संस्थागत गर्न रवि–बालेन सम्झौता: हर्क साम्पाङ

    काठमाडौं। धरान उपमहानगरपालिकाका मेयर तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच भएको ७ बुँदे सम्झौताको कडा शब्दमा आलोचना गरेका छन्। उनले उक्त सम्झौता सत्तालोभ र विदेशी हस्तक्षेपलाई संस्थागत गर्ने उद्देश्यले गरिएको आरोप लगाएका छन्।

    आइतबार बिहान सामाजिक सञ्जाल फेसबुकमा भिडियो सन्देश जारी गर्दै साम्पाङले भने, “कुर्सिको लागि र यो देशलाई लिलाम गर्नका लागि सम्झौता गरिएको हो। विदेशी हालीमुहाली प्रत्यक्ष महसुस भइसकेको छ, अब त्यसलाई संस्थागत गर्न खोजिँदैछ।” नाम नलिई रवि लामिछाने र बालेन शाहलाई लक्षित टिप्पणी गर्दै साम्पाङले विशेषगरी बालेनमाथि तीव्र आलोचना गरे। उनले जेन–जी आन्दोलनको समयमा देश अशान्त हुँदा टुलुटुलु हेरेर बसेको र भित्रभित्रै डरलाग्दो खेल खेलेको आरोप लगाए।

    “जो भित्र लुकेर डरलाग्दो खेल खेल्छ, जेन–जीलाई उक्साएर भिडन्तमा पठाउँछ, ७०–८० जना हताहत हुँदा पनि बाहिर आउँदैन,” साम्पाङले भिडियोमा भनेका छन्। साथै उनले एमसीसीसँग सम्बन्धित विषयमा पनि रवि लामिछानेतर्फ संकेत गर्दै आलोचनात्मक टिप्पणी गरेका छन्। हर्क साम्पाङको यो प्रतिक्रिया रवि लामिछाने र बालेन शाहबीच ७ बुँदे राजनीतिक सम्झौता सार्वजनिक भएपछि आएको हो। उक्त सम्झौताअनुसार दुवै जना एउटै दलमार्फत प्रतिनिधिसभा निर्वाचनमा सहभागी हुने सहमतिमा पुगेका छन्। सम्झौतामा रास्वपाको नेतृत्व रवि लामिछानेले गर्ने र आगामी प्रतिनिधिसभा निर्वाचनपछि बालेन शाहलाई संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवार बनाइने उल्लेख छ।

    सम्झौतामा पार्टीको नाम, झण्डा र चुनाव चिन्ह यथावत् राख्ने, जेन–जी आन्दोलनको अपनत्व लिने, भ्रष्टाचार र कुशासनविरुद्ध नीतिगत तथा संरचनागत सुधार गर्ने, र नेपाललाई १० वर्षभित्र मध्यम आय भएको देश बनाउने लक्ष्य राखिएको छ। बालेन शाह मेयर पदबाट राजीनामा दिएर सक्रिय पार्टी राजनीतिमा प्रवेश गर्ने सम्भावनासमेत देखिएको छ। रवि–बालेन सहकार्यलाई ‘वैकल्पिक राजनीतिक शक्ति’ को रूपमा प्रस्तुत गरिए पनि हर्क साम्पाङको तीव्र आलोचनाले यस सम्झौतामाथि राजनीतिक बहस थप चर्किने संकेत देखिएको छ।



    फास्ट न्युज    
  • २०८२ पुष १३, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार