logo

२०८३ बैशाख २५ शुक्रबार

logo
  • २०८३ बैशाख २५ शुक्रबार
  • लोकतान्त्रिक विधिबाट निकास खोज्न तीन ठूला दलको सन्देश

    1KShares
    लोकतान्त्रिक विधिबाट निकास खोज्न तीन ठूला दलको सन्देश

    काठमाडौं । जेनजी आन्दोलनले उथलपुथल ल्याएपछि प्रधानमन्त्री केपी ओलीले राजीनामा दिएपछि अहिले देश नेतृत्वविहीन छ । ओली सरकार ढलेपछि अन्तरिम सरकार कसको नेतृत्वमा बनाउने भन्ने अझै निष्कर्षमा थप अन्योलता बढेको छ।

    जेनजी नै विभाजित भएर अलग अगल व्यक्तिको नाम अघि सारिरहेका छन्। काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकारको गठन गर्नुपर्ने र त्यसका लागि संसद विघटन अनिवार्य गर्नुपर्ने अडान सार्वजनिक गरेका छन् ।

    यद्यपि, कार्कीको नाममा पनि अहिलेसम्म जेनजीभित्रै सहमति बन्न सकेको छैन। जेनजीलाई प्रतिनिधिसहित सेनाले आज वार्ताको लागि बोलाएको भएपनि अझै टुंगिएको छैन। जेनजीभित्र मतभेद बढ्दै गएपछि ठूला राजनीतिक दलहरुले संवैधानिक व्यवस्थाभित्रबाटै निकास खोज्नुपर्ने धारणा सार्वजनिक गरेका छन्।

    एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्रीको राजीनामापछि अबको राजनीतिक निकास संविधान र लोकतान्त्रिक विधिबाट खोजिनुपर्नेमा बताएका छन्। पार्टी सचिवालयको धारणा सार्वजनिक गर्दै उनले भनेका छन्, ‘युवा पुस्ताका माग सम्बोधन गर्न सार्थक संवाद सुरु गर्न राष्ट्रपतिलाई ध्यानाकर्षण गराइएको छ । साथै संसद, न्यायपालिका, प्रदेश र स्थानीय तहले लोकतन्त्रको रक्षा र सेवाप्रवाहमा सक्रिय भूमिका खेल्नुपर्ने आग्रह गरिएको छ ।’

    कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पनि विषम परिस्थितिमा वार्ता र संवादमार्फत निकास दिनका लागि राष्ट्रपतिले लिएको पहलकदमीको स्वागत गरेका छन्। सबै पक्षसँग आवश्यक परामर्श गरी संवादबाट नै समाधान खोज्नुपर्ने उनीहरुको निष्कर्ष छ।

    कांग्रेसको विज्ञप्तिमा भनिएको छ, ‘हामी यो पहललाई जेन जी पुस्ताको भावना बमोजिम नै निष्कर्षमा पुर्याउन आग्रह गर्दछौं । त्यसो गर्दैगर्दा ‘आवश्यकताको सिद्धान्त’ बमोजिम हुने निर्णयलाई पनि संविधान बमोजिम वैधानिक बाटोबाट नै अगाडिको यात्रा तय गर्न सकिन्छ र गर्नुपर्छ भन्ने कुराको स्मरण गराउन चाहान्छौं ।’

    विधिविहिनताले थप अराजकता निम्त्याउने भन्दै वार्ताका क्रममा राष्ट्रपति र जेनजी पक्षलाई आग्रह गरेका छन्। ‘अब देश चलाउन र निर्वाचन गर्न नयाँ राजनीतिक संरचना बनाउँदा देशमा लामो संवैधानिक रिक्तता र शुन्यता आउन नदिन हरसम्भव वैधानिक उपाय अपनाइयोस्, संविधान र लोकतान्त्रिक बाटोबाट नै समाधान खोज्दै यो बेथितिको अन्त्यको मार्गचित्र तय गरियोस् । त्यसमा हाम्रो समर्थन रहनेछ’, विज्ञप्तिमा भनिएको छ।

    माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि संक्रमणकालिन परिस्थितिको फाइदा उठाउँदै धमिलो पानीमा माछा मार्ने प्रतिगामी सडयन्त्रविरुद्ध सचेत रहँदै एकजुट भएर अघि बढ्न शान्ति, संविधान र गणतन्त्र पक्षधर सम्पूर्ण शक्तिलाई अपील गरेका छन्।

    विज्ञप्तिमा भनिएको छ, ‘जेन–जी आन्दोलनका एजेण्डाहरूले यथास्थिति र तदर्थवादी शासन प्रणालीको साटो उन्नत लोकतन्त्रको माग गरेको छ। यो स्थितिमा आन्दोलनभित्र घुसेर प्रतिगामी तत्वहरुले तोडफोड, आगजनी र विध्वंसमार्फत बलिदानीपूर्ण संघर्षबाट प्राप्त उपलब्धिहरुलाई उल्ट्याउने धृष्टता गरिरहेका छन्।’

    उनले लोकतन्त्रको विकल्प समुन्नत र अझ बढी सुदृढ लोकतन्त्र, गणतन्त्रको विकल्प अझ सुदृढ गणतन्त्र मात्रै भएको बताएका छन्। विज्ञप्तिमा भनिएको छ, ‘जेनजी पुस्ताको माग न लोकतान्त्रिक व्यवस्था र संविधानविरुद्ध थियो, न संसद् विघटनका पक्षमा नै। उहाँहरुले उठाएका माग संविधान र वर्तमान संसदीय प्रक्रियाभित्रबाट पूरा हुन सक्छन् भन्नेमा हामी विश्वस्त छौं। कैयन् कमजोरीका वावजूद सामाजिक न्याय प्रत्याभूत गर्ने सवालमा, समावेशिताको सवालमा नेपाली जनताका प्रतिनिधिहरुले निर्माण गरेको अहिलेको संविधान तुलनात्मक रुपमा उत्कृष्ट संविधान हो।’

    अहिलेको संक्रमणकालिन अवस्थाको निकास समेत संविधानसम्मत तरिकाले हुनुपर्ने उनको भनाइ छ। ‘संविधान र व्यवस्थापिका संसदको शून्यतामा खोजिने राजनीतिक निकासले अन्ततः प्रतिगमनलाई नै फाइदा पुर्याउने छ। त्यसैले संविधान कार्यान्वयनमा देखिएका चुनौतीहरुको गम्भीर समिक्षासहित समावेशी लोकतन्त्रको रक्षा गर्दै प्रत्यक्ष कार्यकारी रहने राजनीतिक प्रणालीका पक्षमा संविधान संशोधन गर्न सके मात्रै हामी समुन्नत लोकतन्त्रको विकास गर्न सक्छौं’ विज्ञप्तिमा भनिएको छ, ‘यो पक्षलाई अत्यन्तै संवेदनशील र गम्भीररुपमा लिएर आन्दोलनकारी पक्षले आफ्नो भावी रणनीति विकास गर्ने विश्वास लिएका छौं ।’

    यसैबीच, राष्ट्रपति रामचन्द्र पौडेलले देशलाई संवैधानिक दायराभित्र रहेर निकास दिने प्रयास भइरहेको बताएका छन्। राष्ट्रपतिले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘देशको अहिलेको बिषम परिस्तिथिमा मुलुकलाई संबैधानिक दायरामा रहेर कसरी निकास दिन सकिन्छ र मुलुकमा लोकतन्त्रको संरक्षण तथा शान्ति सुव्यवस्था कसरी कायम गर्न सकिन्छ भनेर म विचार विमर्श एवं हर प्रयास गर्दैछु ।’ आन्दोलनकारी नागरिकहरुको माग सम्बोधन गर्न छिटो भन्दा छिटो समस्याको निदानको खोजी भइरहेको कुरामा विश्वस्त हुन र संयमतापूर्वक मुलुकमा शान्ति सुव्यवस्था कायम गर्ने काममा सहयोग गर्न अपिल गरेका छन्।



    फास्ट न्युज    
  • २०८२ भाद्र २६, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट