पोखरा । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा मुख्य अभियुक्त भनिएका गितेन्द्रबाबु (जीबी)राईको राहदानी रद्द गर्न कास्की जिल्ला अदालतले आदेश गरेको छ । सूर्यदर्शनको रकम अपचलन गरेर फरार रहेका जीबीको राहदानी रद्द गर्न सरकारी वकिल कार्यालय कास्कीको निवेदनका आधारमा आदेश भएको हो ।
न्यायाधीश हिमलाल बेलबासेको इजलासले जीबीको राहदानी रद्दका लागि राहदानी विभागलाई लेखी पठाउन आदेश भएको स्रेस्तेदार राजन खनालले जानकारी दिए ।
केही अभियुक्त पुर्पक्षका लागि कारागार चलान भएको र केही प्रतिवादी धरौटीमा रिहा भएको भएपनि पीडितले न्याय नपाएको भन्दै सरकारी वकिलको कार्यालयले बिहीबार जिल्ला अदालतमा निवेदन दर्ता गराएको थियो । त्यसैका आधारमा जीबीको राहदानी रद्द गर्न लेखी पठाउने आदेश भएको हो । अब अदालतको पत्र पुगेपछि विभागले रद्द गर्ने प्रक्रिया अघि बढाउनेछ ।
सूर्यदर्शन सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका गोर्खा मिडियाका पूर्व प्रबन्ध निर्देशक रवि लामिछाने, पूर्व डीआईजीसमेत रहेका गोर्खा मिडियाका पूर्वउपाध्यक्ष छविलाल जोशीलगायत ७ जना एकैपटक धरौटीमा छुटेपछि सरकारी वकिलको कार्यालयले जीवीको राहदानी रद्द गराउने कदम चालेको हो ।
जीबीमाथि १ अर्ब ८६ करोड ७३ लाख १९ हजार ५ सय ८ रुपैयाँ बिगो दाबी गरिएको छ ।उनी अहिलेसम्म फरार रहेका छन् ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया